३८ क्विन्टल सुन प्रकरणका आरोपित सबै प्रहरीले सफाइ पाए

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : ३८


साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुद्दा लागेका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालत, विराटनगरले मंगलबार आरोपित सबै प्रहरी अधिकारीलाई सफाइ दिएको हो।

आरोपित सबै प्रहरी अधिकारीले सफाइ पाएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए। सुन तस्करी प्रकरणमा बहालवालासहित पूर्वप्रहरी अधिकारीविरुद्ध समेत मुद्दा लगाइएको थियो।

पूर्वडीआईजी गोविन्द निरौला, तत्कालीन एसएसपी हाल डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी हाल एसपी प्रजित केसी, डीएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार विष्णुबहादुर खड्का र जवान अम्मरबहादुर खड्काले सफाइ पाएका हुन्।

यसअघि सबै प्रहरी अधिकारी धरौटीमा रिहा भए पनि एसएसपी श्याम खत्री र डीएसपी सञ्जय राउत भने पुर्पक्षका लागि थुनामै रहेका थिए। अदालतको उक्त फैसलापश्चात् उनीहरु अब पनि रिहा हुने भएका छन्।


प्रतिक्रिया दिनुहोस्