काठमाडौं/ कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ। ‘भेन्टिलेटरमा आमा’ सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ।
‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धहरु सङ्गृहित छन्।
‘खासमा यो मेरो सम्झनासङ्ग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि केही सन्दर्भलाई स्मृतिको तानमा हालेर ‘केही’ बुन्न खोजेको छु। केही दिवङ्गत प्रिय मान्छेका बारेमा केही पृष्ठ अर्पण गरेको छु, बाल्यकाल र किशोरवयमा सयर गरेको छु, भोगाइ तथा जियाइसँग जोडिएका केही मुद्दा र सवालमा टिप्पणी गरेको छु।’
केसीले निबन्धमा आफूले बाँचेको समय र समाजका मिठास र कटुता, जलन र शीतलता, प्रेम र क्रुरतालाई व्यक्त गरेको बताएका छन्।
लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै आएका केसी फुटकर लेखनबाटै निबन्ध विधामा पाठकहरुद्वारा रुचाइएका लेखक हुन्। तिख्खर भाषामा व्यंग्यचेती गद्य लेखन उनको परिचय हो। उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनलगायत सिर्जनकर्ममा सक्रिय छन्।
केसीको यसअघि ‘भोकको क्षेत्रफल’ २०६९ कविता सङ्ग्रह प्रकाशित छ।
बेलाको छैठौं पुस्तकका रुपमा केसीको निबन्ध प्रकाशित भएको पब्लिकेसन्सकी अध्यक्ष वन्दना ढकालले बताइन्। काठमाडौं उपत्यकाभित्र र बाहिर ‘दोबिल्ला बुक्स’ले पुस्तक वितरणको जिम्मा लिएको पनि उनले जानकारी दिइन्।
काठमाडौं उपत्यकाभित्रका पाठकका लागि दोबिल्लाले नै होम डेलिभरीको समेत व्यवस्था गर्ने बेलाले जनाएको छ।
केसी पब्लिकेसन्सका सम्पादक समेत हुन्। यसअघि उनी डेढ दशकसम्म विभिन्न सञ्चारगृहसँग आबद्ध भई सक्रिय पत्रकारितामा संलग्न थिए।