एमालेले ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’ भन्दै संसदमा नारा लगायो

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : ३६


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले मंगलबारको प्रतिनिधिसभामा कर मिनाहा गर्ने निर्णयको विरोध गर्दै प्रदर्शन गरेका थिए। ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा उनीहरुले संसदमा नाराबाजी गरेका थिए।

एमालेका सांसदहरुले ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए। यद्यपी संसदको काम भने जारी रहेको थियो।

सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ।

यो व्यवस्थाका कारण स्रोत नखुलेको सम्पत्तिले वैधता पाउने भन्दै एमालेले विरोध जनाएको हो।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेरेर नाराबाजी गरेका थिए। अवरोध र नाराबाजीबीच पनि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभा बैठकमा पेश गर्न अनुमति दिएका थिए।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेपछि बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ।


प्रतिक्रिया दिनुहोस्