बर्षा हुँदा पोखरालाई अंक, प्लेअफको लागि काठमाडौंलाई अर्को खेल कुर्नपर्ने

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : २०


पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेटमा काठमाडौं किग्स–११ लाई १४ रनले पराजित गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा वर्षाले खेल प्रभावित भएपछि पोखराले ‘डि एल मेथर्ड’को आधारमा काठमाडौंलाई १४ रनले पराजित गरेको हो।

१८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाउँदा भारी पानी परेको थियो । त्यसपछि खेलको छिनोफानो ‘डि एल मेथर्ड’को आधारमा भएको थियो।

पोखराको लागि सहन अराच्चीगेले सर्वाधिक ४३ रन बनाउँदा विवेक यादवले अविजित ४१ रन बनाए । यस्तै लोकेश बलमे १८ तथा रिचार्ड लेभीले १७ रन बनाए।

काठमाडौं लागि जितेन्द्र मुखिया र गुल्शन झाले समान२ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो। काठमाडौंको सम्मानजनक योगफलमा अमित श्रेष्ठ र रायन बर्लले अर्धशतकीय इनिङस् खेले। अमितले सर्वाधिक ५६ रन बनाए। ४१ बल खेलेका अमितले ६ चौका र २ छक्का प्रहार गरे।

यस्तै रायनले ५० रन बनाए। ४३ बल खेलको रायनले २ चौका र ३ छक्का हिर्काए। कप्तान सन्दीप लामिछानेले ३१ रन बनाए। यस्तै रहमानुल्लाह गुर्बाजले १२ रन बताए।

टस जितेर बलिङ गर्ने निर्णय लिएको पोखराको लागि विवेक यादवले सर्वाधिक ३ विकेट लिए। यस्तै विक्रम सोब, नन्दन यादव, किशोर महतो र साहन अराच्चिगले समान १–१ विकेट लिए।

आज नै भएको पहिलो खेलमा भैरहवाले चितवनलाई ६ विकेटले पराजित गर्‍यो । जारी ईपीएलमा चितवन पहिलो पटक पराजित भएको हो।

यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै भैरहवा र पोखरा राईनोज पनि प्लेअफमा पुगिसकेका छन्। अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ।

काठमाडौले आजको खेल हारे पनि उसलाई अब अर्को खेल जित्नै पर्ने दबाब छ । यदि काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ।

जारी ईपीएलमा ५ खेल खेलेको चितवनको ८ अंक छ। समान ४ खेलबाट भैरहवाको ६ अंक रहँदा पोखरा राईनोजको ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ।

५ खेलबाट ३ अंक बनाएको ललितपुर चौथो स्थानमा रहँदा ४ खेल खेलेको काठमाडौं २ अंकसहित पाँचौँ तथा ५ खेल खेलको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ।


प्रतिक्रिया दिनुहोस्