पञ्चा सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा, असन्तुष्ट समूहद्वारा कुर्सी तोडफोड

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ०५


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको काठमाडौंमा भएको २२औँ राष्ट्रिय सम्मेलनले अध्यक्ष मात्र चुन्न सकेको छ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी गरिए पनि विधान संशोधनका सन्दर्भमा प्रतिनिधिले नाराबाजी गरेपछि नाम घोषणा हुन नसकेको हो।

विधान संशोधन प्रस्तावमाथि अध्यक्षमण्डलले पदाधिकारी र केन्द्रीय सदस्य संख्या थप गर्ने निर्णय सुनाउन लाग्दा प्रतिनिधिले नाराबाजी गरेका थिए।

असन्तुष्ट विद्यार्थीहरुले कुर्सी समेत तोडफोड गरेका थिए। निरन्तर नाराबाजीका कारण अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गर्दै सम्मेलन सकिएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय गरिएको थियो।

महासचिवमा दीपेश पुनको नाममा सहमति जुटेको छ।

अध्यक्षमण्डलले हाल कायम रहेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएर केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी गरे पनि बन्द सत्रमा विधान संशोधनको प्रस्तावलाई अस्वीकृत गरेको क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले जानकारी दिए। अहिले २५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरिएको थियो।

‘हामीले अहिले रहेका पदाधिकारी र केन्द्रीय कमिटी संख्या बढाउने प्रस्ताव गरेका थियौँ’, उनले भने, ‘तर, हलले विधान संशोधन अस्वीकृत गर्‍यो अनि पदाधिकारी र केन्द्रीय कमिटी घोषणा हुन सकेन।’

उपाध्यक्ष गौतमले विद्यार्थी इन्चार्ज हितमान शाक्य र क्रान्तिकारीको पूर्वकार्यालय समूहले अहिले देखिएको विवाद समाधान गरेर चाँडै नै पदाधिकारी र केन्द्रीय सदस्यको नाम घोषणा गर्ने बताएका छन्।

यही १४ असोजदेखि काठमाडौंमा क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन सुरु भएको थियो।

 

 


प्रतिक्रिया दिनुहोस्