वैदेशिक रोजगारीको कहर : कसैका शव, कसैका अस्तु आए

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : ३७


खोटाङ । वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन्।

रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७/०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए।

साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका मिलन दर्जी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका( ७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका-५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेका धनशेर राईको ज्यान गएको हो।

यस्तै, मलेसिया पुगेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका-६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका-७ सुङदेलका छत्रे भुजेल र साकेला गाउँपालिका-३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको राईले बताए।

दर्जीको २ असोज २०७७ मा मृत्यु भएको हो। २०७६ सालमा साउदीअरेबिया पुगेका बर्देवाको एक्कासि पेट दुखेर अस्पताल लैजाने क्रममा १३ मंसिर २०७७ मा मृत्यु भएको बताइएको छ।

अनिलको भने कोभिडऔ १९ को संक्रमणका कारण मृत्यु भएको हो। प्रवासी नेपाली समन्वय समिति, दूतावासलगायतको पहलमा कतिपय मृतकको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले बताए। चालू आर्थिक वर्षमा केपिलासगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको सामीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्