पूर्वयुवराज पारसको निवासमा चोरी, चोरी गर्ने व्यक्ति उनकै कामदार

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ५७


पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ। चोरी गर्नेमा उनकै कामदार भएको प्रहरीको भनाइ छ।

लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरी भएको हो। हालै काठमाडौंको मित्रनगरबाट पारसका कामदार शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए।

बस्नेतका अनुसार शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको थियो। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको बताइएको छ।

हाल काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्