ताइवानको विषयमा बोल्यो अमेरिका, चीनको विरोध गर्दै भन्योः शान्ति बिथोल्ने काम नगरौं

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ४८


चीनले शुक्रबार, शनिबार र आइतबार लगातार तीन दिनसम्म ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा लडाकु विमानहरु पठाएपछि अमेरिकाले यस विषयमा चीनको विरोध गरेको छ।

शुक्रबार ३८, शनिबार ३९ र आइतबार १५ गरी लगातार तीनदिनसम्म ९३ वडा लडाकु विमानहरु ताइवानको हवाई क्षेत्रमा घुसेपछि अमेरिकाले चीनलाई आक्रमक गतिविधि नगर्न भनेको हो।

अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले चीनको विमानहरु ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमामा घुस्नुलाई उत्तेजक र अस्थिर सैन्य गतिविधि भनेका छन्।

‘हामी ताइवानको नजिकै भएको चीनको उत्तेजक सैन्य गतिविधिबाट धेरै चिन्तित छौं,‘अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले एक विज्ञप्तिमा भने,‘हामी ताइवान बिरुद्धको चिनियाँ सैन्य, कूटनीतिक, र आर्थिक दबाब रोक्न आग्रह गर्दछौं।’

प्राइसले चिनियाँ गतिविधिले क्षेत्रीय शान्ति र स्थायित्वमा धक्का लाग्ने पनि बताएका छन्। यसअघि चिनियाँ विमान आफ्नो क्षेत्रमा घुस्नुलाई ताइवानले चीनको हेपाहा प्रवृत्ति भनेको थियो।

ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ। ‘चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्न छ,’ ताइवानका प्रधानमन्त्री सु जिन चाङले भनेका छन्।

चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ जसका कारण अमेरिकी टिप्पणीबाट चीन रुष्ट बन्ने निश्चित छ। ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ।

चीनले ताइवानमा आफ्नो लडाकु विमान पठाउनुलाई आफ्नो सार्वभौमसत्ता रक्षा गर्नु तथा ताइवान र अमेरिकाबीचको साँठगाँठ विरुद्ध त्यसो गरेको बताउँदै आएको छ।

‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ देशको भूगोल र हवाई सीमा बाहिरको क्षेत्र हो जहाँ विदेशी विमानहरू राष्ट्रिय हितका लागि पहिचान, निगरानी र नियन्त्रण गर्न सकिन्छ। यो स्वघोषित क्षेत्र हो र प्राविधिक रूपमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र अन्तर्गत पर्दछ।

ताइवानका कतिपय टिप्पणीप्रति असन्तुष्टि जनाउन बेइजिङले समय समयमा यस्ता मिसनहरू सञ्चालन गर्ने गरेको छ।

विवाद
चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ। पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ। जसले चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ।

तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ। चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ। द गार्जियन र एससीएमपीको सहयोगमा

 


प्रतिक्रिया दिनुहोस्