साफ च्याम्पियनसिप: श्रीलंकाविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : १२


पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध जित हासिल गरेको नेपालले पुरुष साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबार श्रीलंकाको सामना गर्दैछ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ। प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। यसअघि नेपालले आयोजकसमेत रहेको बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो।

यता, श्रीलंका भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। १० खेलाडीमा सीमित श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० गोलअन्तरले पराजित भएको थियो।

प्रतियोगिताअघि भएको प्रि-म्याच पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले खेल जित्ने योजना सुनाएका थिए। नेपाल र श्रीलंकाबीच हालसम्म भएको खेलमा श्रीलंका बलियो देखिएको छ। १७ खेलमा ६ खेल श्रीलंकाको पक्षमा गएको छ भने नेपालको पक्षमा ३ खेल छ । ८ खेल बराबरमा सकिएको छ।

दोस्रो खेलअघि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फिफा वरीयतामा श्रीलंका नेपालभन्दा कमजोर रहे पनि उसलाई कमजोर नआँक्ने र सम्भावित योजनाबाट बचेर खेल्ने बताएका छन्।

कप्तान किरणकुमार लिम्बूले समेत अघिल्लो खेलमा माल्दिभ्ससँगको खेलमा झै ९० मिनेट मेहनत गरेर खेल जित्ने योजनासहित मैदान उत्रने बताएका छन्।

दोस्रो खेलमा श्रीलंकाविरुद्ध प्रशिक्षक अब्दुल्लाहले पूरा खेलमा रक्षात्मक खेल्दै पुनः एक पटक काउन्टर खेललाई प्राथमिकतामा राख्नेछन् ।

श्रीलंकाविरुद्ध सोमबार नेपाली टोलीमा कुनै चोट हुने छैन । पहिलो खेलमा औसत प्रदर्शन गरेका खेलाडीबाट केही खेलाडीसमेत परिवर्तन हुन सक्छन्।

यसअघि नेपालको अग्रपंक्ति सम्हालेका नवयुग श्रेष्ठ दोस्रो खेलमा बेन्चमा रहन सक्छन्। उनको स्थानमा आशीष लामाले खेल्न सम्भावना छ ।

अन्य पोजिसनमा भने अब्दुल्लाहले सोही खेलाडी मैदान उतार्न सक्छन्। राइट विंगरमा भने अन्जन विष्टको स्थानमा सुमन लामा खेल्न सक्छन् । यसअघि गोल गरेका मनिष डाँगीले पुनः एक पटक बेन्चबाटै सुरुवात गर्ने सम्भावना छ।

अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक लिम्बूले कप्तानीसहित गोलपोष्टको जिम्मेवारी सम्हाल्नेछन्।

यता, डिफेन्स लाइनमा समेत कुनै परिवर्तन हुने छैन । लेफ्ट ब्याकमा सुमन अर्याल रहँदा राइट ब्याकमा गौतम श्रेष्ठले जिम्मेवारी बहन गर्नेछन्।

यस्तै, सेन्टर ब्याकमा दिनेश राजवंशी र अनन्त तामाङ सदावहार छन्। प्रशिक्षक अब्दुल्लाहले डिफेन्सिफ मिडमा पुनः एक पटक पुजन उपरकोटी र रोहित चन्दलाई जिम्मा लगाउने छन्। यस्तै लेफ्ट विंगरमा सुजन श्रेष्ठ रहँदा राइटमा सुमन लामा रहन सक्छन्। नेपाली टोलीको एक्लो सेन्टर फर्वाडमा आशीष लामा रहन सक्ने सम्भावना छ।

अघिल्लो खेलमा झै विशाल राई, मनिष डाँगी, आयुष घलान, नितिन थापालगायत वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्न सक्छन्।

नेपालको सम्भावित प्लेइङ सेट

गोलरक्षक – किरणकुमार लिम्बू (कप्तान)

डिफेन्डर– सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ

मिडफिल्डर– पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ

स्ट्राइकर – सुजल श्रेष्ठ, सुमन लामा, आशीष लामा


प्रतिक्रिया दिनुहोस्