ड्रग्स पार्टीमा गिरफ्तार भएका शाहरुखका छोराले एक रात हिरासतमै बिताए

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ४१


हालै ड्रग्स पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यनले प्रहरी हिरासतमै एक रात कटाएका छन्। लागू–औषधविरुद्धको नारकोटिक्स कन्ट्रोल ब्युरो एनसिबीले आइतबार आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्ट तथा मुनमुन धमिचालाई अदालतमा पेश गरेको थियो।

अदालतले उनीहरुलाई एक दिन एनसीबीको हिरासतमा राख्न आदेश दियो। भारतीय संचारमाध्यमका अनुसार सोमबार पनि आर्यन अदालत जानेछन्र।

उनका तर्फबाट चर्चित क्रिमिनल लयर सतिश मानसिन्देले मुद्दा लडिरहेका छन्। मानसिन्देले नै रिया चक्रवर्तीको केस पनि हेरेका थिए। शनिबार मुम्बईस्थित एक क्रुज जहाजमा एनसीबीले छापा मार्दा आर्यनसहित १३ जना पक्राउ परेका थिए।

प्रहरकिा अनुसार यस क्रुज जहाजमा ड्रग्स पार्टी चलिरहेको थियो। उक्त जहाज मुम्बईबाट गोआतर्फ जाँदै थियो। पार्टीमा सहभागी हुनेहरुले टिकटबापत ८० हजारदेखि २ लाख भारुसम्म तिरेका थिए।

यद्यपी, आफुले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन्। आर्यनकाअनुसार यस पार्टीमा उनी आउने प्रचार गरेर अन्य धेरैलाई सहभागी हुन बोलाइएको थियो।

आर्यनको केस हेरिरहेका वकिल सतिश मानसिन्देले उनलाई जमानतमा रिहा गर्नुपर्ने तर्क अदालतमा राखेका थिए। तर, आइतबार यस्तो हुन सकेन।

‘मेरा क्लाइन्टलाई आयोजकले बोलाएका थिए। उनीसँग क्रुजको टिकट पनि थिएन। उनीबाट केही बरामद पनि भएन। उनको मोबाइल फोनको पनि जाँच भइसकेको छ । त्यहाँ पनि केही भेटिएन,’ मानसिन्देले भने,‘न उनले ड्रग्स लिएका छन्। न उनीबाट केही बरामद नै भएको छ।’

आर्यनसहित तीन आरोपीहरुलाई जेजे अस्पताल लगेर मेडिकल परीक्षण गरिएको थियो। हाल सुनिल सेट्टी तथा सलमान खानजस्ता कलाकार शाहरुखको छोराको पक्षमा उभिएका छन्।


प्रतिक्रिया दिनुहोस्