चीनको ताइवान कब्जा गर्ने दृढदा दिनदिनै मजबुत बन्दै गएको छ। गएको शुक्रबार मात्र ताइवानले ३८ वटा चिनियाँ लडाकु विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको थियो। शुक्रवार भएको त्यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको थियो।
तर त्यसको भोलिपल्टै शनिवार चीनले ३९ लडाकु विमान पुनः ताइवानको हवाई क्षेत्रमा पठायो। ताइवानको रक्षा मन्त्रालयका अनुसार दुई दिनको अन्तरालमा चीनले परमाणु बम खसाल्ने क्षमता सहितका ७७ विमानहरू आफ्नो ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र पठाएको हो।
लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ। चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ।
ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ। ‘चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्न छ,’ ताइवानका प्रधानमन्त्री सु जिन चाङले भनेका छन्।
यसअघि चीनले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा तथा ताइवान र अमेरिकाबीचको साँठगाँठ विरुद्ध लक्षित रहेको बताएको थियो।
‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ देशको भूगोल र हवाई सीमा बाहिरको क्षेत्र हो जहाँ विदेशी विमानहरू राष्ट्रिय हितका लागि पहिचान, निगरानी र नियन्त्रण गर्न सकिन्छ। यो स्वघोषित क्षेत्र हो र प्राविधिक रूपमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र अन्तर्गत पर्दछ।
ताइवानका कतिपय टिप्पणीप्रति असन्तुष्टि जनाउन बेइजिङले समय समयमा यस्ता मिसनहरू सञ्चालन गर्ने गरेको छ।
विवाद
चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ। पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ। जसले चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ।
तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ। चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।
गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।
ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।
बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।
ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ। सीएनएन र एससीएमपीको सहयोगमा