ललिता निवास प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा सुनुवाइ हुँदै

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : २५


काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको आज सुनुवाइ हुने भएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको हो ।

प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरै अग्राधिकार प्राप्त उक्त रिटको सुनुवाइ तोकिएको छ । जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू​लाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै न्यौपानेले अख्तियारविरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पटक–पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।

बालुवाटार सरकारी जग्गा प्रकरणमा अख्तियारले थुप्रैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने निर्णयमा संलग्न तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईलाई अख्तियारले उन्मुक्ति दिन खोजेको भन्दै चर्को आलोचना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्