आँखाका बिरामीलाई अस्पताल पठाउन धामी-झाँक्रीलाई तालिम

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ४०


खोटाङ । खोटाङमा आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माणका लागि धामी(झाँक्रीलाई तालिम दिइएको छ । झारफुक गर्न धामी–झाँक्रीकहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने/पुर्‍याउने वातावरण निर्माणका लागि नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले दिक्तेल र हलेसीमा एक दिने परम्परागत हिलर्स ट्रेनिङ आयोजना गरेको हो ।

झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ डाक्टरकहाँ गएर उपचार गराउनका लागि आग्रह गर्न/गराउनका लागि तालिमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताए ।

आँखा उचार केन्द्र दिक्तेलमा आयोजना गरिएको परम्परागत हिलर्स ट्रेनिङमा २८ जना र हलेसीमा आयोजना गरिएको परम्परागत हिलर्स ट्रेनिङमा ३५ जना धामी–झाँक्रीलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।

दिक्तेलमा आयोजित तालिममा सहभागी धामी–झाँक्रीलाई आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सहजीकरण गरेका थिए । ‘गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ । गाउँघरमा बिरामीको पहिलो सम्पर्क व्यक्ति धामी–झाँक्री नै हो,’ अध्यक्ष कसजूले भने, ‘आँखाका समस्या भएका बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाइदिनका लागि धामी–झाँक्रीलाई तालिम दिइएको हो ।

बिरामीलाई सुरुमै अस्पताल आउने वातावरण बनाउन धामीलाई सहयोगीका रूपमा तालिम दिइएको नेत्र ज्योति संघका अध्यक्ष कसजूले बताए । कतिपय आँखाका बिरामी अस्पतालसम्म नआइपुग्ने र आँखाको ज्योति गुमाउने गरेका कारण त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याउन धामीलाई उपयोग गर्ने उपाय अपनाइएको हो ।


प्रतिक्रिया दिनुहोस्