आइल्याण्डमा गोल्छा परिवारको लगानी, स्विट्जरल्याण्डमा खाता

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ४२


गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी छ।

‘फ्ल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिन्छ।

जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्ड अनुसार उक्त कम्पनी मार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्याण्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन्।

उक्त खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा दिवाकर, हितेश र लोकमान्य गोल्छालाई कम्पनीले अधिकार दिएको कागजातबाट स्पष्ट हुन्छ। फ्ल्याटउड लिमिटेड नामक कम्पनी मार्फत दिवाकर गोल्छा लगायतको समूहले सन् २००८ मा नेपालको इष्टर्न सुगर मिल्सको शेयर खरीद गर्ने निर्णय गरेको भेटिएको छ।

यो कम्पनीले मिल्सको १३१७.५०० कित्ता शेयर खरीद गरेको पाइएको हो। तर केही समयपछि फ्ल्याटउड लिमिटेडले मिल्सको केही प्रतिशत शेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको देखिन्छ। १५ फेब्रुअरी २००८ मा फ्ल्याटउडले मिलको १३१७.५०० कित्ता शेयरमध्ये ३८४.१६६ कित्ता शेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको पाइएको छ।

फ्ल्याटउडले सन् २००८ मा मिल्सका नाममा लेखेको पत्र अनुसार, त्यतिबेलासम्म फ्ल्याटउडको मिल्समा ९३३.३४४ कित्ता शेयर थियो। सोही पत्र अनुसार फ्ल्याटउडले हुलासलाई मिल्सबाट २८८.१२५ कित्ता अतिरिक्त हकप्रद शेयर खरीद गर्ने गरी जिम्मा दिएको देखिन्छ। हुलास मेटल क्राफ्ट पनि गोल्छा अर्गनाइजेशनकै कम्पनी हो।

सन् २०१९ मा खोपकेले सार्वजनिक गरेको नेपालिक्स अनुसार ‘ट्याक्स हेभन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डबाट सबैभन्दा पहिला लगानी भित्र्याउनेमा गोल्छा अर्गनाइजेशन पर्छ । ‘यो अर्गनाइजेशनले नवलपरासीको नेपाल बोर्ड्स् लिमिटेड उद्योगमा फ्ल्याटउड लिमिटेड कम्पनी मार्फत लगानी भित्र्याएको हो,’ नेपालिक्समा भनिएको छ, ‘गोल्छा अर्गनाइजेशनले साजसज्जाका लागि प्रयोग गरिने काठका सामग्री बनाउने उद्योगका लागि २०५० सालमा २ करोड ८८ लाख ६८ हजार ७८० रुपैयाँ विदेशी लगानी भित्र्याउने अनुमति लिएको थियो।’

यसरी हेर्दा फ्ल्याटउड लिमिटेडबाट उनीहरूले नै नेपालमा सञ्चालन गरेका तीन वटा कम्पनीहरूमा विदेशी लगानी ल्याएको देखिन्छ । जुन कम्पनीबाट विदेशी लगानी यहाँ ल्याइयो त्यही कम्पनी ब्रिटिश भर्जिन आइल्याण्डमा गोल्छा परिवारका पाँच जनाको नाममा रहेको ‘प्यान्डोरा पेपर्स’ले खुलासा गरेको छ।

लोकमान्य गोल्छा नेपाल चेम्बर अफ कमर्सका मानार्थ उपाध्यक्ष हुन्। नेपाल चेम्बर अफ कमर्सको वेबसाइटमा उल्लेख भएको विवरण अनुसार हाल हंसराज हुलासचन्द एण्ड को, हुलास वायर इण्डष्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका कम्पनीहरू सञ्चालनमा छन्।

इस्र्टन सुगर मिल र हुलासमा फ्ल्याट उडले लगानी गरेको लोकमान्य गोल्छाले स्वीकार गरे। “त्यो धेरै पुरानो कुरा भएकाले डिटेल थाहा छैन। मैले इन्डस्ट्री हेरेको छैन । त्यो मेरो भाई दिवाकरले हेथ्र्यो”, उनले भने। तर ब्रिटिस भर्जिन आईल्याण्डस्थित फ्ल्याटउडमा गोल्छा परिवारका सदस्यहरुको नाममा दर्ता भएको बारे थाहा नभएको उनको प्रतिक्रिया छ।

-खोज पत्रकारिता केन्द्र


प्रतिक्रिया दिनुहोस्