गान्धीका हत्यारा नाथुराम गोड्सेको जीवनीमा फिल्म बन्ने

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : ०५


महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ। गान्धीको १५२औँ जन्मजयन्तीको अवसरमा उनका हत्यारा नाथुरामबारे ‘गोड्से’ नामक फिल्म निर्माण गर्ने घोषणा गरिएको हो।

महेश मांजरेकरले निर्देशन गर्ने फिल्मका निर्मातामा सन्दीप सिंह र राज शान्डल्य छन्।

आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी दिइएको हो। हाल स्क्रिप्ट लेखन कार्य भइरहेको फिल्म सन् २०२२ को जुन महिनासम्म छायांकन सुरु गरिने बताइएको छ।

निर्देशक मांजरेकरले नाथुरामको विषयमा फिल्म बनाउनु निकै हिम्मतको काम भएको बताएका छन्।

‘आममानिसलाई नाथुरामले गान्धीलाई मारेको कुरा मात्र थाहा छ। त्यसबाहेक नाथुरामका बारेमा केही पनि थाहा छैन’, उनले भनेका छन्, ‘फिल्मले धेरै कुरा बताउनेछ। हामी न नाथुरामको गुणगान गाउनेछौँ, न कसैका विरुद्ध केही देखाउनेछौँ। के सही, के गलत भन्ने कुरा मूल्यांकन गर्ने काम दर्शकलाई नै छाड्नेछौँ।’

फिल्ममा नाथुरामको भूमिका कसले निर्वाह गर्नेछ, त्यो भने गोप्य राखिएको छ।


प्रतिक्रिया दिनुहोस्