ईपीएल क्रिकेट : चितवनको लगातार चौथो जित, शीर्ष दुई पक्का

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : १५


चितवन टाईगर्सले जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शीर्ष दुईमा स्थान पक्का गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको हो।

यसअघि १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चितवनलाई जिताउन मोहम्मद सहजादले सर्वाधिक ३५ रन बनाए। यस्तै भिम सार्कीले २७, भिरन्दीप सिंह १३ तथा दिलीप नाथले १६ रन बनाए।

यता, ललितपुरका अज्मतुल्लाह ओमार्जाईले र राजन ढकालले समान २ विकेट लिए। यस्तै योगन्द्र सिंह कार्कीले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो। ललितपुरका जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन बनाउँदा सूर्य तामाङ ११ रन बनाए।

चितवनका कमलसिंह ऐरीले ३ विकेट लिए । यस्तै करिम जनत र सागर ढकालले समान २ विकेट लिए। शाहब आलमको नाममा १ विकेट रह्यो।

जितसँगै चितवन शीर्षस्थानमा रहँदै शीर्ष दुई पक्का गरेको छ । यता, ललितपुरको भने प्लेअफको लागि अंकगणितीय सम्भावना कायम छ।

चितवनले ४ खेलमा शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्षस्थानमा छ। पोखरा ४ खेलमा २ जित १ हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ। भैरहवा ३ खेलमा १ जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ।

ललितपुर ५ खेलमा १ जित र ३ मा हारसहित ३ अंक जोड्दै चौथो स्थानमा छ। काठमाडौं ३ खेलमा १ जित र २ हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ। विराटनगर वारियर्स ५ खेलमा १ जित र ४ हारसहित पुछारमा रहँदै उपाधि होडबाट बाहिरिएको छ।


प्रतिक्रिया दिनुहोस्