श्रीलंकासँग तीन अंकको लागि खेल्छौंः कप्तान किरण चेम्जोङ

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ०२


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ)ले श्रीलंकाविरुद्ध महत्वपूर्ण तीन अंकको लागि खेल्ने बताएका छन्।

आइतबार प्रि म्याच पत्रकार सम्मेलनमा बोल्दै गोलरक्षक तथा कप्तान चेम्जोङले श्रीलंका बलियो टोली रहेको र आफूहरु तीन अंकको लागि खेल्ने बताए।

‘विगत विगत भैसक्यो । हामी अर्को खुड्किलोको लागि हामी खेल्दै छौं । हामी तीन अंकको लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछौं,’ ३१ वर्षीय कप्तान किरणले साफ च्याम्पियनसिपको दोस्रो खेलअघि भने।

नेपालले भोलि श्रीलंकाको सामना गर्दैछ। आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।

यसअघि नेपालले शुक्रबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बलियो आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरेका थिए।

कप्तान चेम्जोङले श्रीलंका कठिन प्रतिद्वन्द्वी भए पनि आफ्नो सबैभन्दा राम्रो खेल दिने बताएका हुन्।

उनले ९० मिनेट मेहनत गर्दै श्रीलंकालाई पराजित गर्न खेल्ने बताए।

‘यो हाम्रो लागि कठिन छ। तर हामी ९० मिनेट मैदानमा हाम्रो सबैभन्दा राम्रो दिनेछौं,’ नेपालका लागि सर्वाधिक क्याप जितेका कप्तान किरणले भने।

यस्तै, किरणले नतिजाका लागि आफ्नो सहयात्री खेलाडी, प्रशिक्षकसँग विश्वास रहेकोसमेत बताए। नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन्। जसमा नेपालले ३ खेल जितेको छ भने ८ खेल बराबर गर्दा ६ खेलमा हार ब्यहोरेको छ।

यस्तै भोलि नै हुने पहिलो खेलमा भारत र बंगलादेश आमने–सामने हुनेछन्।


प्रतिक्रिया दिनुहोस्