कहिल्यै बन्द नहुने पाँचथरको एउटा सामुदायिक विद्यालय

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : ५०


पाँचथर। फिदिम नगरपालिका–४ सालघारीकी तामाङ थरकी एक किशोरीले १४ वर्षमै विवाह गरिन। उनी स्थानीय जागृत आधारभुत विद्यालयमा अध्ययनरत थिइन । वडा नम्बर ९ लुम्फाबुङका राई थरका किशोरसँग विवाह गरेकी उनले वर्ष दिन नपुग्दै छोरो जन्माइन।

छोरो जन्मिएपछि उनी माइतीमै बसिन। माइती आएपछि किशोरले आमाछोरालाई नै छाडेर हिड्यो । किशोरी श्रीमान्को घर जान सकिनन् । माइतीमै बसेर छोरोलाई हुर्काउँदै गरेकी किशोरीको लमजुङ घर भई पाँचथरमा पुल निर्माणका लागि आएका भुजेल थरका अर्का युवकसँग माया बस्यो । उनीहरूले विवाह पनि गरे। छोरालाई माइतीमै छोडेर उनी लमजुङ गइन । लमजुङमा पनि अर्को छोरो जन्माइन । श्रीमान्सँग यहाँ पनि सम्बन्ध राम्रो नभएपछि उनी फेरि छोरो च्यापेर माइती आइन।

उनी पुनः पहिले कै श्रीमानसँग बस्न थाले पनि सम्बन्ध राम्रो हुन सकेन। त्यसपछि माइतीमा दुई छोरालाई अलपत्र छाडेर उनी रोजगारीका लागि पोखरा गइन । आर्थिक अवस्था कमजोर भएको उनको माइतीले बालकहरूको लालनपालन गर्न सकेन।

अहिले ति बालकहरू स्थानीय जागृति आधारभूत विद्यालयले सञ्चालन गरेको आवासीय विद्यालयको शरणमा छन् । राई थरका बालक अहिले १० वर्षका भए भने भुजेल थरका सात वर्षका छन् । उनीहरूले आफ्नो बाबु देख्न समेत पाएका छैनन्।

–सात वर्षकी पार्वती राई ९नाम परिर्वतन० जागृति विद्यालयको आवासमै बसेर कक्षा दुईमा पढ्दैछिन । उनी तेह्रथुमको आठराईमा जन्मेकी हुन् । तर उनकी आमाले दोस्रो विवाह गरेपछि उनी फिदिम–९ लुम्फाबुङ आइन् । उनी आमासँगै झट्केलो बाबुको घर पुगिन । तर, केही वर्षमै उनकी आमाले दोस्रो श्रीमानलाई पनि छोडेर अर्को विवाह गरेपछि उनी अलपत्र परिन । उनी अहिले विद्यालयको आवासमा छिन् । जागृति आविका प्रधानाध्यापक डिल्लीराम लुइटेलका अनुसार विद्यालयको सेवा क्षेत्र फिदिम–कुम्मायकको सीमा सिवा दोभानमा पार्वतीलाई भेटेर आवासमा ल्याएर राखिएको हो ।

विद्यालयको आवासमा उनीहरू जस्तै २५ जना बालबालिका आश्रित छन् । यहाँ आश्रित बालबालिकाका अभिभावकहरूलाई उनीहरूका बारेमा कहिल्यै सोधिखोजी पनि गर्दैनन् । जसका कारण यस्ता बेसाहार बालबालिकाको साहारा बनेका छन् विद्यालयका शिक्षक र सहयोगी कर्मचारीहरू। ‘धन्न विद्यालयले ०७२ सालदेखि आवासीय व्यवस्था गरेको छ र उनीहरूले अक्षर चिन्न पाएका छन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङ भन्छन् ।

सामुदायिक विद्यालयमा आवास

फिदिम नगरपालिका–४ सालघारीस्थित यो विद्यालय कहिल्यै बन्द हुँदैन। आवास सुविधा समेत भएले विद्यालय वर्षैभरि खुला रहन्छ । सधैँजसो विद्यालय खुल्ने भएपछि आसपासमा पनि सधैँ चहलपहल हुन्छ। प्रधानाध्यापक र शिक्षकहरू पनि प्रायः विद्यालयमै भेटिन्छन् । आवासमा बसेका बाहेकका विद्यार्थी पनि विद्यालयमा आइरहन्छन्।

आवासमा नबसेका विद्यार्थी मध्ये दैनिक १० देखि १५ जनाले विहानको खाना विद्यालयमै खान्छन्। आवासका अधिकांश विद्यार्थी त कहिल्यै घर नै जादैनन् न त आफन्त कहाँ नै जान्छन् । उनीहरूका लागि विद्यालय नै घर, आफन्त र अभिभावक हो।

फिदिम नगरपालिकासहित हिलिहाङ र कुम्मायक गाउँपालिकाका एक सय ६२ घरधुरी सेवा क्षेत्र रहेको यस विद्यालयमा एक सय तीन जना विद्यार्थी अध्ययनरत छन् । सेवा क्षेत्रमा माझी, तामाङ, राई, लिम्बू र दलित समुदायको बसोबास छ । प्रधानाध्यापक लुइटेलका अनुसार बालविवाहदेखि बहुविवाहसम्मका अनेकन समस्याले झेलिएको यी गाउँमा बालबालिका बेवारिसे हुने क्रम व्याप्त छ । सेवा क्षेत्रका एक दर्जनभन्दा बढी बालबालिका अभिभावकका कारण विद्यालय आउन नसकेपछि तत्कालिन जिल्ला शिक्षा कार्यालयको सहयोगमा ०७२ सालमा आवासको व्यवस्था गरिएको हो ।

विद्यालयले व्यहोरेको अविभावकीय दायित्य

सहाराविहीन बालबालिकालाई विद्यालयमै राखेर पठन–पाठन गराउँदै आएको यो विद्यालयले शिक्षा दिने कार्यमा मात्र आफूलाई सिमित गरेको छैन । बालबालिकाको अविभावकीय दायित्व समेत पूरा गरिरहेको छ । शनिवार होस् वा सार्वजनिक विदा, चाडपर्व होस् वा बन्द हड्ताल यो विद्यालयमा सधैँजसो पठन–पाठन चलिरहन्छ ।

विद्यालयको सेवा क्षेत्रमा हिलिहाङ गाउँपालिकाका माझीटार, तम्फुवा र सीमखर्क, फिदिम नगरपालिकाका माझीटार, सालघारी, सरखण्डे र सिवादोभान तथा कुम्मायक गाउँपालिकाको निबुदोभान लगायतका टोल पर्छ । गरिबी, अशिक्षा र अज्ञानताले यहाँका किशोर–किशोरीले १४–१५ वर्षमै विवाह गर्छन् । जवान हुँदासम्ममा ३–४ जना नानीका आमा–बाबु बनिसक्छन्’, प्रधानाध्यापक लुइटेलले भने, ‘बुझ्ने भएपछि खट्पट् हुन्छ र अर्को विवाह गर्छन् । यहि कारण नानीहरू बेवारिसे हुने गरेका छन् ।’

सेवा क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालय आउन नसक्ने भएपछि तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको साथमा आवास निर्माण थालिएको थियो । शिक्षा कार्यालय र जिल्ला विकास समितिबाट विभिन्न शीर्षकमा आएको बजेटबाट तीन कोठे भवन बनाइ विद्यार्थी राखेको प्रधानाध्यापक लुइटेल बताउँछन् । २०७२ सालमा १३ जनाबाट सुरुआत भएको आवास एक वर्षमै बन्द हुने अवस्थामा पुगेको थियो । ‘कहीँबाट बजेट पाउन नसक्दा झण्डै बन्द गर्नुपर्यो’, प्रधानाध्यापक लुइटेलले भने, ‘कोही आफन्त वा सहारा दिने अभिभावक भेटिएका बालबालिकालाई घर पनि फर्कायौं ।’

बजेट अभावले एक समय जम्मा ६ जना मात्रै पनि राखेको उनले बताए । एक जना सहयोगीलाई मासिक तीन हजार पारिश्रमिक दिएर बालबालिकाको हेरचाह गर्न राखिएको लुइटेल सम्झन्छन् । ‘लत्ताकपडादेखि खाद्यान्नसम्म मागेर धान्यौँ’, प्रअ लुइटेलले भने । स्थानीय तह निर्माणपछि भने फिदिम नगरपालिकाले आवास सञ्चालनमा भरथेग गर्दै गर्न थाल्यो । आवासमा बसेर पढेका विद्यार्थी अहिले कक्षा ९ मा पुगेका छन् । उनीहरूमध्ये अधिकांश फिदिम–४ स्थित सुखबोध माध्यमिक विद्यालयमा अध्ययरत छन् । ‘यहाँ बसेका धेरै विद्यार्थी तीक्ष्ण क्षमताका छन्’, लुइटेलले भने, ‘केही त कक्षामा उत्कृष्ट भइरहेका छन् ।’

हेरचाहमा कठिनाइ

आवासमा रहेका सातदेखि १४ वर्षका २५ जना बालबालिकाको हेरचाहको जिम्मा शिक्षिका मालिका सुब्बा र सहयोगी एवं भान्से विमला तामाङले लिएका छन् । ‘विहानदेखि रातिसम्मै उनीहरूको खानपान, सरसफाइ, पढाइलगायतमा हामी तल्लिन हुन्छौँ’, शिक्षिका सुब्बाले भनिन्, ‘दुई जनाले यति धेरै काम गर्न कठिन पर्ने गरेको छ ।’ बाहिर जथाभावी हिँड्न नदिनेदेखि माया ममता दिने दायित्व पनि विद्यालय परिवारको छ । ‘नसक्ने बालबालिकाका कपडा समेत धोइदिनु पर्छ’, तामाङले भनिन् । धेरै विद्यार्थी रहेकाले आफूले समेत प्रायः विद्यालय छोड्न नपाउने प्रधानाध्यापक लुइटेलको भनाइ छ ।

शिक्षक र सहयोगीको स्थायी दरबन्दी दिन माग

सरकारी व्यवस्थाअनुसार विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी कायम हुन्छ। फिदिम नगरपालिकासँग विद्यार्थी संख्या कम भए पनि स्थानीय समस्या बुझेर दरबन्दी थपिदिन आग्रह गरेको प्रधानाध्यापक लुइटेलले बताए। ‘साथीहरू (अन्य विद्यालयका प्रधानाध्यापक) तपाईंको विद्यालयलाई पाँच लाख बजेट दिएको छ । अरुले एक लाख पनि पाएका छैनैनन् भन्नुहुन्छ’, लुइटेलले भने, ‘तर हाम्रो समस्या कसैले बुझिदिएन ।’ आवास सञ्चालनको बजेटलाई वृद्धि गरी एक जना शिक्षक र एक जना सहयोगीको दरबन्दी पाए विद्यालय सञ्चालनमा सहज हुने लुइटेलको भनाइ छ । कक्षा छसम्म चलेको विद्यालयमा अहिले चार जना शिक्षक दरबन्दी र एक जना अन्य स्रोतबाट राखिएका शिक्षक छन् ।

उपल्लो कक्षा पढ्न झनै समस्या

जागृति आ।विले अहिले कक्षा ६ सम्म पठन–पाठन गराइरहेको छ। कक्षा ७ का लागि स्वीकृति दिन माग गर्दै निवेदन दिएको छ। सदरमुकाम नजिकै भए पनि यहाँबाट अर्को विद्यालय पुग्न कम्तिमा डेढ घण्टा पैदल यात्रा गर्नुपर्छ। समयमा सवारीसाधन नपाइने समस्या त छँदै छ। अधिकांश परिवारले छोरा–छोरीलाई दैनिक भाडा तिरेर विद्यालय पठाउन सक्दैनन्। विद्यालय टाढा हुँदा धेरै विद्यार्थीले पढाई छोड्ने गरेको प्रधानाध्यापक लुइटेलले देखेका छन्। ‘एक–दुई दिन ट्रयाक्टरमा झुन्डिएर जान्छन्। कहिले गाडी कुर्दा कुर्दै बाटोमै १० बज्छ, त कहिले हिँड्दाहिँड्दै भोकाउँछन्’, लुइटेलले भने, ‘त्यसपछि स्कुल जानै छाडिदिन्छन्।’

सेवा क्षेत्रका हिसाबले यो विद्यालयलाई कक्षा आठसम्म पु¥याउनै पर्ने आवश्यकता छ रहेको उनको भनाइ छ। ‘नौ कक्षा पुगेपछि उनीहरु आफैँ अलि बुझ्ने र परिपक्व हुन्छन्। पढ्नुपर्छ भन्ने चेतना आउँछ र अर्काको घरमा काम सघाएर पनि पढ्न सक्छन्’, लुइटेलले भने, ‘यसतर्फ सरकारी निकायले सोचिदिउन्।’

विद्यालयलाई सधैँ आर्थिक अभाव

तीन आर्थिक वर्षदेखि फिदिम नगरपालिकाले आवासीय विद्यालय सञ्चालनका लागि बजेट छुट्याउँदै आएको छ । नगरपालिकाले अघिल्ला तीन आर्थिक वर्षमा विभिन्न शिर्षकमा क्रमशः तीन लाख र पाँचरपाँच लाख बजेट दिएको थियो । तर यति बजेटले आवास सञ्चालन खर्च धान्न कठिन परेको प्रधानाध्यापक लुइटेलको गुनासो छ। आवाशमा रहेका बालबालिकाको लागि दैनिक न्यूनतम १८ हजार लाग्ने उनले बताए । लुइटेलले भने, ‘विद्युत्, लत्ताकपडा, स्वास्थ्य सेवा आदिमा उत्तिकै खर्च लाग्छ ।’

१६ बालक एउटै कोठामा

चार कोठे आवास आवास गृहमा १ देखि ७ कक्षासम्मका विद्यार्थी बस्छन् । तर, भवनको अभावमा एउटै कोठामा १६ जना छात्र र अर्कोमा ९ जना छात्रा बसोबास गरिरहेको प्रधानाध्यापक लुइटेलले वताए ।

विद्यालयले कम्तिमा ५० जना बालबालिका अट्ने भवन, भान्साघर, सहयोगीका लागि कोठा, शौचालय लगायत निर्माणका लागि नगरपालिकासँग प्रस्ताव गरे पनि बजेट नभएको प्रतिक्रिया पाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङको भनाइ छ । यहाँ अहिले रहेका २५ मध्ये १६ जना बालबालिकाका बाबुआमाले छोडेका छन्। बाँकी नौ जनाका बाबुआमा भए पनि स्याहारसुसार नगर्ने, ख्याल नराख्ने भएपछि विद्यालयले नै अभिभावकत्व लिई अध्ययनको प्रवन्ध गरेको छ।


प्रतिक्रिया दिनुहोस्