दसैँका बेला अभिभावक विदेशिएपछि सन्तान चिन्तित

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १ : ३१


सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ सदा टोलकी १४ वर्षीया विभाकुमारी सदाको बुबा मंगलु सदा दुई दिनअघि रोजगारीका लागि छिमेकी मुलुक भारत गएका छन् । विजया दशमीको पूर्व सन्ध्यामा रोजगारीका लागि पन्जाब गएपछि उनीलाई अहिले चिन्ताले सताएको छ ।

चाडपर्व सकिएपछि भारत जाने सोच भए पनि दुई छाक हातमुख जोर्न समस्या भएपछि बाध्य भएर उनी काम खोज्न पन्जाब हिँडेका हुन् । ‘बिहानै सधैँ काम खोज्न बजार जानुहुन्थ्यो । काम नपाएपछि रित्तै हात फर्किनु हुन्थ्यो । १५ दिनसम्म त्यस्तै भयो । त्यसपछि बुबा भारत जानु भएको हो’, मंगलुकी छोरी विभाले भनिन् ।

मंगलु नजिकैको इँटा भट्टामा काम गर्दै आएका थिए । ‘बर्खायाम लागेपछि जेठदेखि इँटा भट्टा बन्द भयो । त्यसपछि बुबा बेरोजगारी हुनुभयो । ईटाभट्टा मंसिर पुसमा मात्रै खुल्ने भएपछि दुई दिनअघि भारत जानुभयो’, विभाले भनिन् ।

चार दाजुभाइ दिदीबहिनी र आमासहित अहिले उनको परिवारमा पाँचजना छन् । ऋण लिएर एक महिनाको खर्च जुटाइदिएर बुबा भारत गएको उनको भनाइ छ । ‘पैसा कमाएर पठाएपछि ऋण तिर्न बुबाले भन्नुभएको छ’, विभाले भनिन् ।

उनीलाई परिवारका कुनै सदस्य घरमा छैन भने नरमाइलो लाग्छ । चाडपर्वको समयमा परिवारकै लागि काम गर्न बुबा भारत जान बाध्य भएपछि परिवारका सबै सदस्यलाई दुःख लागेको उनी दुखेसो पोख्छिन् ।

सोही ठाउँका १३ वर्षीय लक्ष्मी सदाको बाबु बृहस्पतिया सदा रोजगारीका लागि भारतको पन्जाब लागेको एक हप्ता भयो । उनी पनि काम नपाएर परिवारको दुई छाक टार्न भारतको पन्जाब लागेका हुन् ।

‘बाहिर भएका सबैको अभिभावक जहाँ भएपनि चाँड पर्वमा घर आउँछन् । हाम्रो बुवा त हाम्रै पेट पाल्न चाँडपर्वको मुखमा बाहिरिएको देख्दा दुःख लागेको छ’, उनी भन्छिन् ।

यस्तै १३ वर्षीया आशाकुमारी सदाको बाबु पनि पन्जाबतिर लागेको दुईदिन भएको छ । दुई वर्षदेखि कोरोना भाइरसका कारण दुई छाक हातमुख जोर्न समस्या हुदै आएपछि बाबु रोजगारका लागि पन्जाव गएको आशाकुमारी बताउँछिन् । ‘चाडपर्वको मुखमा घरकै खर्च धान्न बाध्य भएर भारत जानुपरेको देख्दा दुःखलागेको छ’, उनले भनिन् ।

विष्णुपुर गाउँपालिका–६ मा रहेका ५५ मुसहर समुदायको घरमध्ये ८÷१० घरबाहेक सबैको घरबाट एक–एक जना पुरूष एक हप्ता भित्र रोजगारीका लागि पन्जाब गएका स्थानीय ६० वर्षीया रूको सदाले बताइन्।

परिवारका हातमुख जोर्नकै लागि प्रत्येक घरका अभिभावक पुरूष बुवा वा दाजु दसैँको मुखमा रोजगारका लागि छिमेकी मुलुक भारतको पन्जाब गएका हुन् ।
स्थानीयस्तरमा काम नपाएपछि दुई छाक हातमुख जोर्न समस्या भएर चाडपर्वको मुखमा भारत रोजगारका लागि जान बाध्य भएको उनको भनाइ छ ।

चाडपर्व मुखैमा रोजगारीका अभिभावक घर बाहिर जाँदा परिवारमा खल्लो र नरमाइलो लाग्नु स्वभाविक रहेको वडाध्यक्ष बहादुर सदाले बताए। दुई छाक हातमुख जोर्न समस्या भएकोले चाडपर्वको मुखमा करिब ५० जना रोजगारका लागि भारत लाग्न बाध्य भएको वडाध्यक्ष सदाको भनाइ छ ।

सुधा देव/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्