फिलिपिन्समा ‘ड्रग वार’ चलाएर विवादित बनेका राष्ट्रपति डुटेर्टेले लिए राजनीतिबाट सन्यास

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ६ : १०


फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। सन् २०१६ मा निर्वाचित भएका डुटेर्टे ६ वर्षे कार्यकाल सकिनै लाग्दा सन्यासको घोषणा गरेका हुन्। आफ्नो कार्यकाल सकिएपछि डुटेर्टे राजनीतिबाट रिटायर्ड हुनेछन्।

डुटेर्टेले यसअघि अगस्टमा आगामी निर्वाचनमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने बताएका थिए। सन् २०१६ मा फिलिपिनी डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति निर्वाचित डुटेर्टेको कार्यकाल सन् २०२२ सम्म रहेको छ। मनिलामा उनको उम्मेदवारीको अपेक्षा गरिएको बेला अप्रत्याशित रुपमा सन्यास लिने घोषणा गरेका हुन्।

आफ्नो कार्यकालमा रोड्रिगो लागु औषधविरुद्धको अभियानका कारण चर्चामा आएका थिए। उनको कार्यकालमा यस अभियानलाई ‘कोल्ड ड्रग वार’को संज्ञा दिइएको थियो।

यस अभियानअन्तर्गत ८ हजारभन्दा बढी मानिस मारिएको तथ्यांक छ। डुटेर्टेले नियतवश धेरै निर्दोष व्यक्तिको पनि हत्या गरेको आरोपमा अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले फौजदारी अभियोगसमेत लगाएको छ।

फिलिपिन्सको संविधान विपरीत हुने भएकाले उपराष्ट्रपतिको दौडबाट डुटेर्टे पछि हटेको बताइन्छ। अब उनकी छोरी सारा डुटेर्टे कार्पियो राष्ट्रपतिको उम्मेद्वार बन्ने आँकलन गरिएको छ। कार्पियो हाल फिलिपिन्सको साउथर्न सिटी दबाबकी मेयर छिन्।

उता सिनेटर म्यानी प्याकियो जो चर्चित बक्सर हुने उनले पनि राष्ट्रपतिमा लड्ने घोषणा गरिसकेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्