बैतडी बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० बुरकिलकी कृष्णा बुडाल ६० बर्ष पगिन्। जन्मजात अपाङ्ग रहेकी उनी पटक्कै बोल्न सक्दिनन्।
उनको सानैमा बिहे भयो। त्यो पनि अपाङ्ग व्यक्तिसँग। उनका पति दुवै खुट्टाको अपाङ्ग भएकाले हिँड्न सक्दैनथे। उनीहरुका २ छोरा पनि जन्मिए।
कृष्णाका पतिको २० वर्ष अगाडि मृत्यु भयो। त्यसपछि छोराहरु सहारा छन् भनेर बाँचेकी कृष्णाका छोराहरु अहिले कता छन् उनलाई केही थाहा छैन।
पतिको मृत्युपछि २ छोरा हुर्काएकी कृष्णाका छोराहरु १४ वर्ष कटेपछि रोजगारी खोज्न भारत पसेका थिए। उनका एक छोराको विगत ५ वर्षदेखि केही खबर आएको छैन भने सम्पर्कमा रहेका अर्का छोराको ७ महिनाअघि मृत्यु भएको खबर सुनियो।
अब त कृष्णालाई कसैको सहाराको आश पनि छैन। उनी पुरानो जीर्ण भएको घरमा बस्छिन्। उनले विधवा भत्ता पाउँछिन्। त्यहीँ पैसाले दैनिक छाक टार्छिन्। भत्ताले नपुगेमा कसैको घरमा काम सघाउँछिन् र खाना दियो भने खान्छिन्। आफूले पकाउन सकेको दिन खाना पकाएर खान्छिन् नत्र भोकै बस्छिन्।
बुढेसकालमा यसरी जीवन बिताइरहेकी कृष्णा गाउँमा भने जसले जे भन्यो त्यहीँ काम गर्छिन्। उनी इमान्दार भएकाले गाउँका सबै मान्छेहरु माया गर्छन्। अनि कहिले कुनै ठाउँमा केही कार्यक्रम भयो भने मलाई पनि लैजाउ भनेर भन्छिन्। कार्यक्रममा आउने नयाँ मान्छे सबैलाई नमस्कार गर्छिन्।
उनलाई न दुनियासँगको कुनै मतलब छ, न त जीवन के हो भन्ने नै थाहा छ। मनमा केही कुरा होलान् तर भन्न सक्दिनन्। उनी बोल्नै सक्दिनन्।