सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा नलागेको भए आफू कलाकार हुने बताएका छन्।
शुक्रबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा उनले आफूलाई सानैदेखि कलाकार हुने इच्छा भएको बताएका हुन्। उनका अनुसार राजनीतिक कार्यक्रम निरस हुन्छ तर सांगीतिक कार्यक्रम रसिलो र चाखलाग्दो हुन्छ।
उनले संगीत भनेपछि आफू लठ्ठ हुने गरेको बताउँदै प्रचण्डले भने, ‘सानोमा गीत, संगीत र नाच्नेतिर आफूलाई लैजाने मैले सोचेको थिएँ। सायद, म राजनीतिमा नभएको म पनि कलाकार नै हुन्थें होला। कला, संगीत, खेल र पत्रकारिता क्षेत्र भनेको राष्ट्रको प्रतिष्ठा बनाउने देशलाई समुन्नत बनाउने विद्या हो। म पनि यस्तै भएको भए कस्तो राम्रो हुन्थ्यो होलाजस्तो लाग्छ।’
कलाकारलाई सम्मान गर्ने कार्यक्रममा उनले भने,‘तपाईँहरु सम्मानित हुँदै गर्दा अलि–अलि मलाई पनि मनमा म पनि सम्मानित हुन पाएको भए हुन्थ्योजस्तो लागेको छ।’
प्रचण्डले सो अवसरमा पत्रकार ऋषि धमलालाई राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड–२०७८ बाट सम्मानित गरेका थिए। धमलासँगै बरिष्ठ लोकगायक जयनन्द लामा र कलाकार कृष्ण कँडेललाई पनि उनले सम्मान प्रदान गरे।
उनी सांगितिक कार्यक्रमको प्रशंसा गर्दै भन्छन्,‘राजनीतिक कार्यक्रममा रस हुँदैन्। घोचपेच बढी हुन्छ, आजकाल त गालीगलौज नै हुन थालेको छ। तर आजको जस्तो कार्यक्रम रसिलो, भावुक हुन पाउने, यसमा सहभागी हुन पाउँदा आज म रिल्याक्स भएको छु।’