गगन थापा भन्छन्ः कम्युनिस्ट, मधेसवादी र राप्रापा मिले पनि एक्लैले बहुमत ल्याउँछौं

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ४०


नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आगामी चुनावमा नेपाली काँग्रेस देशको सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन्। उनले देशका सबै दल मिले पनि काँग्रेसले नै बहुमत ल्याउने शनिबार बताएका हुन्।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताउँदै भने,‘काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो। कम्युनिस्ट, मधेसवादी र राप्रापा मिले भने पनि काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ। हामीले पाँच वर्ष सरकार चलाउनका लागि एक्लै बहुमत ल्याउनुपर्छ।’

‘अर्काले पस्केको दुधभात खाने कांग्रेसको जात होइन। हामी आफैले एकल शक्तिका आधारमा काठमाडौं महानगरमा पनि कांग्रेसको झण्डा गाड्ने हो। यो पटक एकल शक्तिका आधारमा फेरि पाँच वर्ष निम्ति देश चलाउने जिम्मा कोही सँग मिलेर होइन एक्लै सबै कम्युनिस्ट र मधेसका पार्टी एक भएर आए भने पनि जित्ने ताकत राख्नेगरी कांग्रेसले आफ्नो संगठन निर्माण गर्नुपर्छ। यसका लागि अझै हामीसँग संगठन बनाउन ६/७ महिना बाँकी छ,’ उनले भने ।

तर काँग्रेसले अहिलेको यथास्थितीमा भने जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ। उनी भन्छन्, ‘आज जसरी चलेको छ यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन।’

उनका अनुसार खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेसको देशलाई खाँचो। उनले नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको बताए।

त्यसका लागि काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको थापाको भनाइ छ। काँग्रेसमा सुधार भए काँग्रेस देशको ठूलो पार्टी बन्ने उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस्