परीक्षणमा रहेको एउटा खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ।
बीबीसीका अनुसार मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। अमेरिकी औषधी उत्पादक कम्पनी मर्कुले परीक्षण परिणाम अत्यन्त सकारात्मक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको जनाएको छ।
उसले अमेरिकामा अबको दुई हप्तामा आपत्कालीन प्रयोगका लागि अनुमति दिन निवेदन दिने बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको बताए।
उनले अमेरिकी खाद्य तथा औषधी नियामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सावधानी अपनाउन भने।
यदि नियामकहरूले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड १९ का लागि पहिलो एन्टिभाइरल खाने औषधी बन्नेछ। बीबीसी