चीनका ३८ लडाकु विमान ताइवान घुसे, चिनियाँ सेनाद्वारा हालसम्मकै ठूलो अतिक्रमण

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १० : ५४


चिनियाँ जनमुक्ति सेनाका ३८ लडाकु विमानहरु शुक्रबार ताइवानको हवाई क्षेत्रमा घुसेका छन्। ताइवानले यो घटनालाई हालसम्मकै ठूलो हवाई क्षेत्रको अतिक्रमण भनेको छ।

चीनले पछिल्ला दिनहरुमा ताइवानलाई कब्जा गर्ने ढाँचाको सैन्य अभ्यास गरिरहेको छ भने दोहोरिँदै अनगिन्ती चिनियाँ लडाकु हवाई क्षेत्रको नियम उल्लंघन गर्दै ताइवान घुस्ने गरेका छन्।

विशेषगरी ताइवानको दक्षिण–पश्चिमी हिस्सा प्राटस टापुमा चिनियाँ युद्धक विमानहरु पुगिरहेका हुन्छन्।

ताइवानको रक्षा मन्त्रालयका अनुसार हिजो सुरुमा चीनका १८ जे–१६, चार सुखोई–३०, परमाणु क्षमताका दुई एच–६ बम्बर्स र एक एन्टी–सबमरिन लडाकु विमानसहित ३० विमान ताइवानको सीमामा घुसेका थिए।

जवाफमा ताइवानले आफ्नो गस्ती बिमान उडाउपछि ती विमान आफ्नै क्षेत्र गएका थिए। तर हिजो नै पुनः १० जे–१६ एस, दुई एच–६ एस र एक पूर्व चेतावनी विमान पनि ताइवानमा बिना अनुमति पसेको ताइवानको भनाइ छ।

त्यसपछि भने ताइवानले चिनियाँ विमानलाई चेतावनी दिन लडाकु विमानसँगै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको थियो। ताइवानले चिनियाँ विमानहरु आफ्नो क्षेत्रमा घुसेको बताइरहँदा चीनले कुनै प्रतिक्रिया जनाएको छैन।

यद्यपी चीनले ताइवान आफ्नो टापु भएको बताउँछ र त्यहाँ विमान उडाउनु देशको सार्वभौमिकताको लागि भएको प्रतिक्रिया दिन्छ।

तर ताइवानले चीन र आफू अलग–अलग देश भएको बताउँछ। चीनको खतरासँग जुध्न भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गर्ने गरेको छ।

गतवर्ष अमेरिकाका तत्कालिन विदेशमन्त्री माइक पोम्पिओ ताइवान भ्रमणमा जाने चर्चा चलेको थियो। चीनले अमेरिकी विदेशमन्त्री ताइवान पुग्नासाथ चिनियाँ लडाकु विमानहरु ताइवान पुग्ने चेतावनी नै दिएको थियो।

ताइवानलाई चीनबाट अलग्याउने खेलमा नलाग्न र त्यसो गरेमा केहीघण्टामै ताइवान चीनमा गाबिने चिनियाँ राष्ट्रपति सी चिनफिङको चेतावनी छ। बीबीसी

यो पनिः चीनको सम्भावित आक्रमणविरुद्ध तयार हुन ताइवानको पाँच दिने युद्ध अभ्यास

– ताइवानका सेनाले युद्ध अभ्यास गर्न लागेको ठाउँमै चिनियाँ लडाकु विमानहरु पुगेपछि…

–चीनले सैन्य क्षमता बढाउँदा हिन्द–प्रशान्त क्षेत्रका सरकार त्रसित, हतियार किनमेल तिर लागे

–ताइवानका रक्षामन्त्रीले भनेः चीनले आक्रमण गर्नसक्छ, क्षेप्यास्त्रहरु तयार राख्नुपर्छ

 


प्रतिक्रिया दिनुहोस्