काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं त्रिभुवन आर्मी फुटबल क्लब प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ।
न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो। न्यौपानेका बुबाआमा दुवै क्यान्सर रोगबाट पीडित छन्।
कोषका सदस्य सचिवसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा संचित रकमको ब्याचबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।
२०६५ सालमा कोष स्थापना भए पनि २०६८ सालमा कार्यविधि बनेपछि मात्र कोषमा एक करोड रुपैयाँ जम्मा गरिएको थियो।
हाल कोषमा एक करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको श्रेष्ठले जानकारी गराए।
विनाशकारी भूकम्प गएको वर्ष २०७२ सालमा कोषले सबैभन्दा बढी २७ लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो। त्यस बेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रूपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो।