विप्लव नेता कोइरालालाई अदालतले ५ लाख धरौटीमा छाड्यो, प्रहरीले लगत्तै समात्यो

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ५७


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका पूर्व जिल्ला इन्चार्ज अदालतबाट रिहा लगत्तै पक्राउ परेका छन्।

५ लाख रुपैयाँ धरौटी बुझाएर अदालतबाट रिहा हुनेबित्तिकै पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई प्रहरीले फेरि पक्राउ परेका हुन्। उनीमाथि अर्को मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।

२०७७ वैशाख २२ मा पक्राउ परेका कोइरालामाथि विस्फोटक पदार्थ, एनसेल टावर आक्रमणलगायतका मुद्दा थियो।

यसअघि अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा कोइराला कारागारमा थिए।

धरौटी बुझाएपछि कोइरालालाई रिहा गरिएको जिल्ला अदालतका स्रेस्तेदार फणीन्द्र भट्टराईले जानकारी दिए। तर रिहा लगत्तै कोइरालालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई संखुवासभा लैजाने तयारी छ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति भएको थियो। नेता कार्यकर्ता बिना सर्त छाड्ने सरकारले जनाएको थियो। तर, सहमति भएको लामो समय हुँदा पनि सरकारले विप्लव समूहका १ सय बढी नेता कार्यकर्तालाई छाडेको छैन।


प्रतिक्रिया दिनुहोस्