काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कार्यक्रम निरश हुने गरेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय नाचघर राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक कार्यक्रममा रस नै नहुने र घोचपेचदेखि गालीगलौजसम्म हुँदा इरिटेसन हुने गरेको बताए ।
कलाकारहरुको कार्यक्रममा आउन पाउँदा आफूले रिल्याक्स महसुस गरेको उनको भनाइ थियो।
‘राजनीतिक कार्यक्रम बढो निरश हुन्छन्। त्यहाँ रस हुँदैन। धेरै भाव हुँदैन। घोचपेच बढी हुन्छ। अझ आजकल त गालीगलौच नै हुन थालेको छ’, उनले भने, ‘त्यस्तो कार्यक्रमको चटारोभित्रबाट तपाईहरुको यस्तो रसिलो भावुक हुन पाइने संगीतमय बढो आफ्नो लोकसंस्कृति झल्किने कार्यक्रममा सहभागी हुन पाउँदा मैले रिल्याक्स महसुस गरेको छु। रिल्याक्स भएपछि एकछिन पछि राजनीतिक कार्यक्रम छ त्यहाँ म घोचपेच गर्दिन्।’
दाहालले आफूले कलाकार बन्न खोजे पनि परिस्थितिले राजनीतिमा ल्याएको बताए। ‘गीतसंगीत, संस्कृति, खेल भनेपछि लठ्ठै पर्ने मेरो बानी छ। म पनि निकै भावुक छु। सानोमा एकचोटी आफूलाई गीत संगीत नाच्नमै आफूलाई लाने हो कि पनि भन्ठान्थे तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन। नत्र म पनि कलाकारै हुन्थे होला जस्तो लाग्छ’, उनले भने, ‘तपाईहरु सम्मानित हुँदा मन थोरै कता कता म पनि यस्तै भएको भए कस्तो राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। म त्यस्तो खाले पनि हो।’
कला, संस्कृति खेल क्षेत्र भनेको राष्ट्रलाई एकताबद्ध गर्ने, प्रतिष्ठा बढाउने, नेपालको गौरव, इतिहास संस्कृतिलाई समुन्नत गर्ने विधा भएको उनको भनाइ थियो।