अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले क्वाड समूहबीच चीनको आक्रामकताको विषयमा छलफल हुने भएपनि सबै विषय चीनसँग सम्बन्धित नहुने बताएको छ।
पेन्टागनका प्रवक्ता जन कर्बीले बिहीबार पत्रकार सम्मेलनमा भने,‘क्वाड समूहको धेरै आयाम छन्, सबै विषय चीनसँग सम्बन्धित हुँदैनन्।’ अमेरिका, अस्ट्रेलिया, जापान र भारत आवद्ध क्वाड समूहलाई चीनले आफूविरुद्धको मोर्चा भन्दै आएको छ।
गत र्माचमा सम्पन्न क्वाडको पहिलो बैठकमा हिन्द–प्रशान्त क्षेत्रमा चीनको आक्रामकताविरुद्ध एक हुने निर्णय भएको थियो। जसले गर्दा चीनले क्वाड आफूविरुद्ध बनेको समूह भएको बताउँथ्यो।
तर गत महिना सेप्टेम्बर २४ मा क्वाडका नेताहरुबीच ह्वाइट हाउसमा प्रत्यक्ष भेटघाट भएको थियो। उनीहरुले आफ्नो विज्ञप्तीमा एकपटक पनि चीनको नाम लिएका छैनन्। उनीहरुले कोरोनाविरुद्ध लड्न, खोप प्रदान गर्न, जलवायु समस्या, व्यापारको विषयमा एक भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए।
क्वाड र चीनको विषयमा कर्बीले भनेका छन्, ‘हिन्द–प्रशान्त क्षेत्रमा चीनले के गर्दैछ त्यो सबैलाई थाहा छ। चीनले पेश गर्ने दाबीको विषयमा क्वाड भित्र लगातार छलफल हुन्छ। क्वाड व्यवस्था सबै प्रकारको मुद्दा र बहुपक्षीय क्षेत्रमा काम गर्ने समूह हो। हामी स्वतन्त्र हिन्द–प्रशान्त क्षेत्र चाहन्छौं।’
हिन्द–प्रशान्त क्षेत्रमा पर्ने दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा चीनले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। तर क्वाड समूहले चीनको दाबी अस्वीकार गर्दछ। क्वाडमा आवद्ध देशका सेनाहरुको जहाज यो सागरमा तैरने गरेका छन्।
चीनले यो सागमार कृतिम टापु नै खडा गरेको छ। चीनको दाबी मलेसिया, फिलिपिन्स, ब्रुनाई, भियतनामजस्ता राष्ट्रले पनि स्वीकार गर्दैनन्। यी राष्ट्र चीनजस्तै दक्षिण चीन सागर दाबी गर्ने राष्ट्र हुन्।
सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले यो जलक्षेत्रमा चीनको दाबी अवैधानिक भनेपछि अमेरिकाले लगातार चीनको विरोध गर्दै आएको छ। बीबीसीहिन्दी