माओवादी शक्तिलाई प्रचण्डको प्रस्ताव-‘अब हिंसाबिनाको नयाँ जनयुद्ध गरौं’

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : १८


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन्।

पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप पार्न खोजिएको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको उनको भनाइ छ।

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिप’ गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘पोहोर सालदेखि माओवादीलाई घेरा हाल्ने र परिवर्तनलाई तोड्न खोजेका छन्। फेरि नयाँ जनयुद्ध गर्नुपर्छ। म हाम्फालेको छु। हतियार र हिंसाबाहेकको नयाँ जनयुद्धको खोजीमा छु।’

प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौं जनता सडकमा ल्याएर लड्नुपर्ने उनको भनाइ छ।

‘सबैले आ-आफ्नो समीक्षा गरौं। समाजवादी आन्दोलनमा इमान्दार भएर लाग्ने हो भने यो देशको मुख्य शक्ति, निर्णायक बनेर हिँड्न सक्छौं। त्यसका लागि हामी सुध्रिन पर्छ’, उनले भने।

‘वैद्यदेखि विप्लव, बाबुराम, उपेन्द्र र मोहनविक्रमसँग संवादमा छु’

अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनमा नयाँ एकता र रुपान्तरण खोज्ने बेला आएको पनि बताए।

‘हाम्रो आन्दोलन बिग्रेको छ। हामी सबै ठूलो भइयो। किरण, बाबुराम, विप्लव र बादल ठूला भए। को कति पानीमा ओभानो रहेछ भन्ने देखियो। अब आ-आफ्नो ठाउँमा बसेर समीक्षा गरौं’, उनले भने।

पहिला भूमिगतमा हुँदा कसैले नाडी छाम्न नपाएको र फुटाउन पनि नसकेको भन्दै शान्ति प्रक्रियामा आएपछि देशीविदेशी प्रतिक्रियावादीले नेतापिच्छे उचालेर फुट ल्याएको उनको भनाइ थियो।

‘बाहिर आएपछि सबैलाई प्रतिक्रियावादीको गुटले समातेर कुरा लाइदिए। प्रचण्डले तपाइँलाई हेपेको छ, घेरा हालेको छ भनेर साँच्चै सिध्याउन खोजेको जस्तो बनाए। यस्तो भन्ने सामन्त, दलाल, नोकर, विदेशीहरू देखे। सत्य यही हो। प्रतिक्रियावादीले कम्युनिस्ट आन्दोलनमा फुट ल्याए। हामी प्रभावित नभएको भए हुन्थ्यो। कुनै न कुनै रूपमा प्रभावित भइयो। समीक्षा गर्नुपर्छ। फटाहाहरूले कसरी फुटाउनेर रहेछन् ज्ञान प्राप्त भयो’, उनले भने।

माओवादी जनयुद्ध विदुपीकरण, भ्रष्टिकरण, विखण्ड र विर्सजन गर्ने षडयन्त्र भइरहेको भन्दै दाहालले त्यसविरुद्ध एकजुट हुनु बुद्धिमानी हुने बताए। ‘नयाँ एकता र रुपान्तरण खोज्ने बेलामा पुगेका छौं। एकताको खोजी गरौं। आत्मसमीक्षाबाट सुरु गरौं। त्यसबाट नयाँ एकता, नयाँ आधार पाउन सक्छौं’, उनले भने।

यसका लागि आफूले सबै कम्युनिस्ट नेतासँग सहकार्य गर्न संवाद अघि बढाएको उनको भनाइ छ।

‘हामी सहकार्य गर्नेमा छौं। किरण, विप्लव, बाबुराम, उपेन्द्रसँग नि कुरा भइरहेको छ। मोहनविक्रम जीसँग पनि बढो सौहार्दपूर्ण कुराकानी भइरहेको छ यसलाई विगार्ने काम नगरौं। यसलाई उचाईमा लैजाने काम गरौं’ उनले भने।


प्रतिक्रिया दिनुहोस्