काठमाडौं। एमालेले कांग्रेसलाई दलाल पुँजीवादीको कित्तामा चित्रित गरेको छ।
शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीवादी, माओवादीलाई अस्थिर र मधेसवादी दललाई संकीर्ण उल्लेख गरेका छन्।
‘नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ। यो पार्टी हाम्रो मुख्य प्रतिष्पर्धी पार्टी हो’, प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उल्लेख गरेका छन्।
माओवादी केन्द्र र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ लाई अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच रहेको आरोप लगाउँदै ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘माओवादी केन्द्र, मूलतः प्रचण्डका अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ।’
मधेसवादी दलको संकीर्ण, यथास्थितिवादी सोचप्रति एमालेको असहमति रहेको ओलीले बताएका छन्। ‘मधेस(केन्द्रित दलका संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।
केही दलहरू राजनीतिक राजतन्त्र फर्काउन चाहेकोप्रति आपत्ति रहेको भन्दै उनले भनेका छन्, ‘कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्। यसमा हाम्रो आपत्ति र विरोध छ।’