चीनले यसैहप्ता आफ्नो सबैभन्दा अत्याधुनिक ‘एअर–टु–एअर’ क्षेप्यास्त्र पीएल–१५ई सार्वजनिक गरेको छ।
सोमबार जुहाई एअर सो कार्यक्रममा चीनले लडाकु विमानमा जडान गरेर आक्रमण गर्नसक्ने क्षेप्यास्त्र सार्वजनिक गरेको हो।
चीन सरकारको एभियसन इन्डस्ट्री कर्पोरेसनका अनुसार यो क्षेप्यास्त्रले मानवसहितको लडाकु विमान, ड्रोन, क्रुज क्षेप्यास्त्र र अन्य ताकिएको बस्तुमा आक्रमण गर्नसक्छ।
उडिरहेको लडाकुविमानबाट प्रयोग हुने यस क्षेप्यास्त्रले १४५ किलोमिटर परसम्म पुगेर मार हान्नसक्छ। यस्तै यो क्षेप्यास्त्र ध्वनीको गतिभन्दा चार गुणा तिव्र छ।
एससीएमपीका अनुसार पीएल–१५ई क्षेप्यास्त्रलाई रुसको आर–३७ क्षेप्यास्त्रसँग दाँजिएको छ। चिनियाँ सैन्य स्रोतका अनुसार सुरुवातमा यो क्षेप्यास्त्र चीनको सबैभन्दा नजिकको मित्र पाकिस्तानले प्राप्त गर्नेछ।
चाँडै यो विश्वमा विक्रीका लागि खुला हुने जनाइएको छ। पीएल–१५ई पीएल–१५ क्षेप्यास्त्रको परिस्कृत रुप हो। चीनका जे–२०, जे–१६ लडाकु विमानमा पीएल–१५ क्षेप्यास्त्र प्रयोग भइसकेका छन्।
हाल विश्वमा सबैभन्दा शक्तिशाली ‘एअर–टु–एअर’ क्षेप्यास्त्र एमबीडीए मेटेअर हो। यो ६ युरोपेली राष्ट्रले बनाएका हुन् जसले २ सय किमी परसम्म आक्रमण गर्नसक्छ। एससीएमपी