जनवरीमा बिहे गर्दै ऋचा चड्डा र फजल अलि

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : १४


बलिउडका दर्शकमा रणवीर कपुर र आलिया भट्टको बिहे कहिले हुन्छ भनेर जति कौतूहलता छ, त्यति नै चासो ऋचा चड्डा र अलि फजलको बिहेको बारेमा पनि छ। शुभचिन्तकहरू रणवीर र आलिया अनि ऋचा र अलिको बिहे भएको हेर्न आतुर छन्।

भारतीय मिडियाका अनुसार अलि र ऋचाको बिहे गत वर्षको अप्रिल महिनामै हुने तयारी थियो। तर, कोरोनाका कारण लकडाउन भएपछि उनीहरूले बिहेको योजना स्थगित गर्नुपर्यो। त्यसपछि अलिकी आमाको निधन भयो।

हालै इन्डिया टुडेसँगको एउटा अन्तर्वार्तामा अलिले आफूहरू २०२२ जनवरी पहिलो सातामै बिहे गर्ने योजनामा पुगेको बताएका छन् । उनले भनेका छन, ‘ऋचा र म जनवरीको सुरुमै बिहे गर्ने मनस्थितिमा छौ। तर, मिति भने तय गरिसकेका छैनौ। हामी धूमधामका साथ बिहे गर्नेछौ।’

ऋचा र अलिको पहिलो भेट २०१३ मा ‘फुकरे’ फिल्मको सेटमा भएको थियो। त्यसबेलादेखि नै आफूहरूबीच प्रेम सुरु भएको, तर मिडियासँग लुकाउँदै आएको अलिले बताएका छन्। उनीहरूले सन् २०१७ मा आफूहरू प्रेममा रहेको स्वीकारेका थिए।

ऋचा यो वर्ष ‘म्याडम चिफ मिनिस्टर’ फिल्ममा देखिएकी थिइन् । अब उनी अलिका साथ ‘फुकरे-३’ मा सँगै देखिनेछिन्। अलि विशाल भारद्वाजको ‘खुफिया’ फिल्ममा देखिने छन् भने ऋचाको ‘अभी तो पार्टी सुरु हुइ है’ पनि यही वर्ष रिलिज हुने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्