काठमाडौं प्रशासनले सभा गर्न रोक लगाएको भोलिपल्ट एमालेको ‘शक्ति प्रदर्शन’

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ४५


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीको जोखिम अझै नहटेको भन्दै भिडभाड, महोत्सव, जुलुस र सभा गर्न बन्देज लगाएको भोलिपल्ट नेकपा एमालेले वृहत सभा आयोजना गरेको छ।

प्रशासनको आदेशका बाबजुत एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्र्रिय सम्मेलन केन्द्रमा विधान महाधिवेशन आयोजना गरेको हो।

सो सभामा एमालेका देशभरिका शीर्ष नेताहरु सहभागी छन। आगामी ३ दिनसम्म चल्ने सो विधान महाधिवेशनमा ६ हजार बढी जना सहभागी हुने बताइएको छ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू सहभागी हुनेछन्।

माधव नेपाल समूह अलग भएपछि कमजोर बनेको नेकपा एमालेले पहिलो पटक आयोजना गरेको विधान महाधिवेसनको यो सभालाई धेरैले ‘शक्ति प्रदर्शन’का रुपमा हेरेका छन।

अध्यक्ष केपी शर्मा अ‍ोलीले शक्ति देखाउँन र एमाले कमजोर नभएको सन्देश दिन आजको सभा आयोजना गरेको केहिको टिप्पणी छ।

पार्टीको विधानमाथि छलफल गर्न आयोजित महाधिवेशनमा शीर्ष नेतृत्वबीच वैचारिक छलफल हुने गर्छ। तर, एमालेले भने धेरै नेताकार्यकर्तालाई सहभागी गराएर ‘शक्ति प्रदर्शन’ गर्न खोजेको विश्लेषकहरुको भनाई छ।

काठमाडौं प्रशासनले बिहिबार राति १२ बजेदेखि लागू हुने गरि भिडभाड, महोत्सव, सभा र प्रदर्शन गर्न रोक लगाएको आदेश जारी गरेको थियो।

यो पनि पढ्नुहोस्

काठमाडौंमा आजबाट मेला, महोत्सव र सभा-जुलुस गर्न रोक

 


प्रतिक्रिया दिनुहोस्