राज खान्दानको सदस्यता त्यागेर मन परेको केटा विवाह गर्दै जापानी राजकुमारी

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : २०


लामो समयको विवादपछि अन्ततः जापानी राजकुमारी माकोले आफूले मन पराएको केटा विवाह गर्ने भएकी छिन्। आगामी महिना माकोले सामान्य परिवारका आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी हुन्।

आगामी अक्टोबर २६ मा माको र केई कुमुरोको विवाह हुने बीबीसीले जनाएको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै आफू कोमुरोसँग विवाह गर्न राजी भएको बताएकी थिइन्।

विवाहपछि उनीहरु अमेरिका जानेछन् जहाँ कोमुरोले वकिलको रुपमा काम गर्नेछन्। जापानको राजपरिवारको नियमअनुसार यदी राजकुमारीले सामान्य व्यक्तिसँग विवाह गर्ने हो भने उसले राज पदवी त्याग्नुपर्ने हुन्छ।

जसकारण कोमुरोसँग विवाहलगत्तै माकोले राजकुमारीको उपाधि त्याग्नु पर्ने हुन्छ। उनले राजकुमारी मोह त्यागेर कोमुरोको श्रीमती बन्न चाहेकी हुन्।

सन् २०१२ मा टोक्योको इन्टरनेसनल क्रिश्चियन युनिभर्सिटीमा माको र कोमुरोको भेट भएको थियो। त्यसयता उनीहरु प्रेम सम्बन्धमा छन्।

सन् २०१८ मा विवाह हुने चर्चा चलेता पनि कोमुरोको आमाको आर्थिक अवस्थाका कारण विवाह हुन सकेको थिएन। कोमुरोकी आमाले आफ्ना पूर्व प्रेमीसँग ऋण लिएका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस्