काठमाडौं । एमालेले उपमहासचिव पद खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ ।
यस्तै जारी महाधिवेशनले पार्टीका केन्द्रीय संरचना प्रस्ताव गरेको छ । जसअनुसार अब एमाले केन्द्रीय कमिटी दुई सय २५ सदस्यीय हुने भएको छ ।
एमालेमा अब अध्यक्ष, उपाध्यक्ष पाँच, महासचिव एक, सचिव ६, सदस्य दुई सय १२ जना गरी केन्द्रीय समिति दुई सय २५ सदस्यीय रहने भएको छ । यस्तै, प्रदेश कमिटीका अध्यक्ष पदेन केन्द्रीय समिति सदस्य रहने भएका छन् ।
यसअघि एमालेमा दुईजना उपमहासचिव पद थियो । एमाले विधानमा वरिष्ठ नेताको पद पनि हटाइएको छ । यसअघि वरिष्ठ नेता अध्यक्षपछिको वरीयतामा रहन्थे । हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको पद सातजना बनाउनुपर्ने प्रस्ताव गरिएको थियो । तर, विधान महाधिवेशनले पाँचजना बनाउनुपर्ने प्रस्ताव गरेको छ ।
अहिले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ ।