‘श्रीपेच लगाउँदा राजा भईन्छ’ भन्ने खेमबाहदुर श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परे

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १ : ११


हालै नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयासमा पक्राउ परेका खेमबहादुर घर्ती श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्तीले यसअघि पनि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको अनुसन्धानमा देखिएको हो। श्रीपेच चोर्न खोज्दा पक्राउ परेका खेम बहादुरले ‘श्रीपेच लगाएर राजा बन्ने र देश शासन गर्ने’ जस्ता अनौठो बयान दिएका थिए।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् भनेका रहेछन्। त्यही भएर उनले श्रपेच निकाल्ने प्रयास गरेका थिए।’

प्रहरीका अनुसार डिप्रेसनमा रहेका उनले त्यो कुरालाई गम्भीरतापूर्वक लिए र श्रीपेच लगाउन भन्दै पक्राउ पर्नुअघि तीन पटकसम्म संग्रहालय प्रवेश गरेका थिए।

‘खासमा ती व्यक्तिले पनि जिस्किँदै भनेका रहेछन् तर उनले गम्भीरतापूर्वक लिएछन्’ प्रहरी भन्छ। नारायणहिटी दरबार संग्रहालयका एक अधिकारी पनि घर्तीले घटनालगत्तै आफूलाई राजा बन्न मन लागेको बयान दिएका थिए।

दरबारमार्गका प्रहरी नायब उपरीक्षक डीएसपी रामेश्वर पौडेलका अनुसार घर्तीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

उनको मानसिक अवस्था ठिक नभएकाले अरु कसुर पुष्टि गर्न गाह्रो हुने डीएसपी पौडेलको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्