आगामी महिनादेखि अन्तर्राष्ट्रिय सीमा खोल्दै अस्ट्रेलिया, को–को जान पाउँछन्?

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ११ : ३३


अस्ट्रेलियाले कोरोना प्रकोपबीच बन्द गरेको अन्तर्राष्ट्रिय सीमा आगामी नोभेम्बर महिनादेखि खोल्ने भएको छ। सुरुवाती चरणमा विदेशमा रहेका अस्ट्रेलियाका नागरिकहरु मात्र अस्ट्रेलिया फर्किन पाउनेछन्।

पूर्ण खोप लगाइएका नागरिक र उनीहरुका आफन्तलाई अस्ट्रेलिया प्रवेश गर्न दिइने बीबीसीले जनाएको छ।

अन्तर्राष्ट्रिय सीमा लामो समयसम्म बन्द गर्दा कोरोना नियन्त्रण गर्न सकिए पनि त्यसले घर परिवार र आफन्तलाई टाढा बनाएको भन्दै सरकारले आलोचना व्यहोरेको छ।

अन्तर्राष्ट्रिय सीमा खोल्ने विषयमा प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार भनेका छन्,‘यो बेला अस्ट्रेलियालीका नागरिकहरुलाई उनीहरुको जीवन फिर्ता दिने समय हो।’

तत्काल विदेशी नागरिकले अस्ट्रेलिया प्रवेश गर्न नपाउने बीबीसीले जनाएको छ। यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश गराउने विषयमा कुनै निर्णय भएको छैन। अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँका विश्वविद्यालयमा अनलाईनमै भर्ना भएर पढ्न पाउने नियम यसअघि नै लागू भइसकेको छ।

अहिले पर्यटक भित्र्याउने विषयमा भने छलफल चलिरहेको छ। हालको समयमा अस्ट्रेलियाबाट बाहिर पनि जान दिइएको छैन्। तर आफन्तको मृत्यु भएको घटनामा भने उनीहरुलाई बाहिर जान दिइनेछ। बीबीसी


प्रतिक्रिया दिनुहोस्