उत्तरद्वारा एक महिनामा चौथो क्षेप्यास्त्र परीक्षण, हालको मिसाइल लडाकू विमानविरुद्ध प्रयोग हुने

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १० : ३२


उत्तर कोरियाले दिनदिनै आफ्नो आक्रामक गतिविधि बढाउँदै लगेको छ। बिहीबार मात्र उत्तर कोरियाले लडाकू विमानविरुद्ध प्रयोग हुने एन्टी–एअरक्राफ्ट मिसाइलको सफल परीक्षण गरेको हो।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले एन्टी–एअरक्राफ्ट क्षेप्यास्त्रको परीक्षण गरेको पुष्टि गरेको छ। केहीदिन अगाडि मात्र उत्तर कोरियाले हावाको गतिभन्दा ६ गुणा तिव्र हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। सो क्षेप्यास्त्र परमाणु क्षमताको भएको अनुमान गरिएको छ।

उत्तर कोरियाले योसँगै एक महिनाको अन्तरालमा चारपटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उत्तरको आक्रामक गतिविधिको विषयमा भनेका छन्,‘यस्ता हतियार परीक्षणले विश्वमा अस्थिरता र असुरक्षा उत्पन्न गराउँछ।’

उत्तर कोरियाले भने आत्मरक्षाको लागि हतियार आवश्यक भएको प्रतिक्रिया जनाउने गरेको छ। उसले अमेरिकाले दोहोरो चरित्र अपनाएको आरोप लगाउँछ। आफूले हतियार कार्यक्रम बन्द गरेमा पनि अमेरिकाको आफूविरुद्धको हेपाहा प्रवृत्ति नरोकिने उत्तरको भनाइ छ।

केसीएनएका अनुसार उत्तरको लडाकू विमानविरुद्धको क्षेप्यास्त्रले शानदार युद्ध क्षमताको प्रदर्शन गरेको छ। उत्तर कोरियाले पछिल्ला दिनहरुमा दक्षिण कोरियासँगको द्वन्द्व समाधानको बाटो खोजिरहेको छ।

हालै उत्तर कोरियले दक्षिण कोरियासँग समस्या सम्बोधनको लागि हटलाईन सेवा सुचारु गर्न आफू राजी भएको बताएको थियो। पछिल्ला क्षेप्यास्त्र परीक्षणहरु शान्तिवार्ताको लागि दबाब दिन गरिएको हुनसक्ने पनि बताइन्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्