को बन्ला अखिल क्रान्तिकारीको अध्यक्ष? यी हुन नेतृत्वका आकांक्षी

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : ५४


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको आजदेखि २२औं राष्ट्रिय सम्मेलन सुरु भएको छ।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा क्रान्तिकारीको सम्मेलनको उद्घाटन सम्पन्न भएको छ। आज उद्घाटन सकिएपछि भोलिदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा बन्दसत्र सञ्चालन हुने छ।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएकोले नेतृत्वका लागि आधा दर्जन क्रान्तिकारीका नेता आकांक्षी देखाएका छन्। यसपटकको सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ । क्रान्तिकारीको २१औं सम्मेलनबाट रञ्जित तामाङ अनिल शर्मालाई हराउँदै विजय भएका थिए ।

यस्तै यसअघि भर्खरै सम्पन्न योङ् कम्युनिष्ट लिग (वाइसिएल)मा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो। उपाध्यक्ष सुरेन्द्र बस्नेत, पंचा सिंह, तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी अध्यक्षका दाबेदार रहेका छन्।

बस्नेत क्रान्तिकारीका प्रवक्ता हुन्। उनलाई शक्ति बस्नेत र वर्षमान पुनको समर्थन रहेको छ। यस्तै अर्का उपाध्यक्ष सिंहलाई अर्थमन्त्री जनार्दन शर्माको सहयोग रहेको छ। क्रान्तिकारीमा एक पटक महिला नेतृत्वलाई पनि अवसर दिनुपर्दछ भनेर आवाज उठिरहेको छ। यदि महिलालाई नेतृत्वमा पुर्‍याउने हो भने सिंह अध्यक्ष बन्ने सम्भावना रहेको छ।

यस्तै अर्का उपाध्यक्ष भण्डारीको सम्भावना पनि उत्तिकै छ। सल्यानका भण्डारीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी प्रवक्ता कृष्णबहादुर महराको समर्थन रहेको छ। उनीलाई क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लको पनि साथ सहयोग छ।

जसले गर्दा उनको सम्भावना बलिया रहेको छ। यस्तै देवकोटालाई अध्यक्ष बनाउन सभामुख अग्निप्रसाद सापकोटा लागिपरेका छन्। देवकोटा अग्निका ज्वाइँ हुन्। यस्तै पार्टीका नेता नारायणकाजी श्रेष्ठको समर्थन उपाध्यक्ष गौतमलाई रहेको छ।

अहिलेका महासचिव अधिकारीलाई अध्यक्ष बनाउन उर्जामन्त्री पम्फा भुसाल र देव गुरुङ लागिपरेका छन्। यस्तै महासचिवको प्रतिस्पर्धामा उपाध्यक्ष दीपेश पुन र उपमहासचिवको प्रतिस्पर्धामा गणेशप्रसाद मैनाली, मिलन एमसी र टुकमान महरा रहेका छन्।

महासचिवमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको सम्भावना बलियो रहेको छ। यस्तै उपमहासचिव पदमा सबभन्दा बढी मत ल्याई विजय हुने मैनालीको सम्भावना पनि उत्तिकै छ।

सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी रहेका छन्। विधान सम्मेलनले २३ पदाधिकारी सहित १९९ केन्द्रीय समिति हुने निर्णयअनुसार सम्मेलनले ती पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्ने छ। सम्मेलनको भोलि राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ। पर्सि नयाँ नेतृत्वका लागि छलफल हुने उपाध्यक्ष बस्नेतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्