काठमाडौं । जिल्ला अदालत कास्कीले धर्म परिवर्तन गराएको आरोपमा ४ जना कोरियाली नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्टहाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
कोरियाली नागरिकमाथि गेष्टहाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजनकिर्तन गर्ने, आर्थिक सहयोग र उपचार खर्च, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने, चर्चमा लैजाने र धर्म परिवर्तन गराएको आरोप स्थानीयले लगाएका थिए।
कतिपय किशोरकिशोरीलाई ट्युसन पढाउने क्रममा क्रिश्चियन धर्मसम्बन्धी काम गर्ने, बाइबलका श्लोक र भजन गाउन लगाउने आरोप लागेपछि भदौ २९ मा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।