चीनले पछिल्लो समय हतियार विकासको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ। सेनालाई शक्तिशाली बनाउन चीनले प्रविधिलाई पनि जोड दिएको पाइएको छ।
युद्धक विमानको स्टिल्थ क्षमतालाई सुधार गर्न चीन लागि परेको छ। स्टिल्थ प्रविधि जडित विमानलाई दुश्मनको राडारले पत्ता लगाउन सक्दैन जसका कारण युद्धमा स्टिल्थ प्रविधि भएका विमानले सहजै दुश्मनमाथि जित निकाल्न सक्दछन्।
चीनले डीएफ–२६ नामक क्षेप्यास्त्र धेरै मात्रामा उत्पादन गरिरहेको एससीएमपीले जनाएको छ। यो क्षेप्यास्त्रले ४ हजार किलोमिटरसम्म पुगेर मार हान्नसक्छ। सन् २०१९ को सैन्य परेडमा चीनले मानवरहित विमान यूएभी सार्वजनिक गरेको थियो।
चीनले अन्तरमहादेशीय र हाइपरसोनिक अर्थात ध्वनीको गतिभन्दा ६ गुणा तिव्र क्षेप्यास्त्र पनि विकास गरिरहेको छ। हिन्द–प्रशान्त क्षेत्रमा यतिबेला चीनलाई घेर्ने हिसाबले अमेरिकाले विभिन्न मोर्चाहरु खडा गरेको समयमा चीनले सैन्य क्षमतालाई थप मजबुत बनाइरहेको हो।
चीनको आक्रामकता रोक्ने भन्दै संगठित रुपमा क्वाड समूह र अकस समूह खडा भएका छन्। एससीएमपीका अनुसार चीनले डीएफ–१७ नामक हाइपरसोनिक क्षेप्यास्त्र र डीएफ–४१ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाएको छ। यो ब्यालेस्टिक क्षेप्यास्त्रले अमेरिकासम्मै पुगेर आक्रमण गर्नसक्ने बताइन्छ।
यसरी चीनले सैन्य क्षमता बढाइरहँदा यतिबेला अमेरिकाका सहयोगी जो हिन्द–प्रशान्त क्षेत्रमा छन् उनीहरुले हतियारको किनमले गर्न थालेका छन्। चीनबाट खतरा महसुस गरेका हुनाले उनीहरुले हतियार खरिद गर्न थालेको बुझिन्छ।
ताइवान
चीनले आफ्नो प्रान्त मान्ने ताइवानले यसै महिनाको सुरुवातमा अमेरिकाबाट २४० अर्ब अमेरिकी डलरको हतियार खरिद गर्ने घोषणा गरेको छ। आगामी पाँच वर्षको अवधिमा यो रकमको हतियार अमेरिकाबाट ताइवान आइपुग्ने गरी सम्झौता हुनेछ।
ताइवान सरकारले अमेरिकाबाट लामो दुरीमा मार हान्नसक्ने क्षेप्यास्त्र तथा क्रुज क्षेप्यास्त्र पाउनेछ। चीनले ताइवान कब्जा गर्ने उद्देश्यले दोहोर्याउँदै ताइवानको हवाई क्षेत्रमा लडाकु विमान पठाएपछि ताइवानले आफ्नो रक्षा गर्नभन्दै अमेरिकाबाट हतियार खरिद गरिरहेको हो। यस्तै अमेरिकाले ताइवानलाई १२ सय किमी परसम्म पुगेर मार हान्नसक्ने क्षेप्यास्त्र विकासमा सहयोग पुर्याउने बताइएको छ।
गत महिना पनि अमेरिकाले ताइवानलाई ४० तोप प्रणाली दिने प्रस्ताव स्वीकार गरेको थियो। ताइवान आफ्नो भूमि बताउने चीनले अमेरिका र ताइवानबीचको सम्बन्धलाई स्वीकार गर्दैन। ताइवानले प्रस्ट भनेको छ कि ताइवानले चीनको एक देश दुई प्रणाली स्वीकार गर्दैन तर चीनले आक्रमण गरेरै ताइवान कब्जा गर्ने बताएको छ।
जापान
जापान र चीनबीच दशकौं यता राम्रो सम्बन्ध छैन। जब जापान र चीनको दुश्मनीले भरिएको सम्बन्धको बारेमा चर्चा हुन्छ इतिहासको विषय अथवा सन् १९३७ डिसेम्बरमा चिनियाँ शहर नानजिङमा सुरु भएको नरसंहारलाई पक्कै स्मरण गरिन्छ।
जापानी सैनिकले चीनको नानजिङ शहर कब्जा गरेपछि हत्या, बलात्कार, लुट गर्न थालेका थिए। यो हत्या र निर्ममता सन् १९३७ डिसेम्बर महिनादेखि १९३८ मार्च महिनासम्म चलेको थियो। इतिहासकारका अनुसार त्यसबेला जापानी सेनाले तीन लाख चिनियाँ नागरिकको हत्या गरेका थिए। जसमा अधिकतम महिला र बालबालिका थिए।
हाल दक्षिण चीन सागरको विषयमा पनि चीन र जापानबीच विवाद छ। यो विवादमा चीन एक्लो छ। जापानसँग अमेरिका, अस्ट्रेलिया, भारत, मलेसिया लगायतका राष्ट्र छन्। त्यसबाहेक चीन र जापानबीच सीमा क्षेत्रका विभिन्न टापुहरु आफ्नो हो भन्नेमा विवाद छ।
जापानमा रहेको सेनकाकु दिप र चीनमा रहेको दिओयु दिपको विषयमा उनीहरु विवाद छ। जापान र चीनले यी टापुहरुमा दाबी प्रस्तुत गर्दै आएका छन् उनीहरु एकअर्काको समुद्री क्षेत्रमा सेनाहरु पठाउने गर्दछन्।
यसबीचमा चीनले सैन्य क्षमता बढाउन थालेपछि जापानले पनि हतियार खरिद र सैन्य क्षमता बढाउन थालेको छ। एससीएमपीका अनुसार जापानले नयाँ एन्टी–सिप मिसाइल विकास गरिरहेको छ। यो क्षेप्यास्त्रले हजार किलोमिटर परसम्म आक्रमण गर्नसक्छ।
सन् २०२० मा अमेरिकाले जापानलार्य १०५ वटा लकहिड एफ–३५ युद्धक जेट २३ अर्ब अमेरिकी डलरमा विक्री गर्ने बताएको थियो। जापान क्वाड समूहको सदस्य राष्ट्र पनि हो। चीनले दाबी गर्ने दक्षिण चीन सागरमा जापानले अमेरिका, अस्ट्रेलियासँग मिलेर चीनको विरोध गर्दै आएको छ।
अस्ट्रेलिया
चीनविरुद्धको मोर्चाको रुपमा लिइएको क्वाड र अकस समूहमा रहेको अस्ट्रेलियाले पनि हतियार खरिद गरिरहेको छ। हिन्द–प्रशान्त क्षेत्रमा रहेको दक्षिण चीन सागरको ९० प्रतिशत जलक्षेत्रमा चीनले दाबी प्रस्तुत गर्दछ। तर अमेरिकाको साथ दिँदै अस्ट्रेलियाले चीनको विरोध गर्दै आएको छ।
अकस सम्झौता अनुसार हालै अस्ट्रेलियाले अमेरिकाबाट परमाणु हतियार सम्पन्न पनडुब्बी खरिद गर्ने सम्झौता गरेको छ। त्यसबाहेक अमेरिका र बेलायतसँगको सहयोगमा अस्ट्रेलियाले क्रुज क्षेप्यास्त्र विकास गर्नेछ। अस्ट्रेलियाले आफूसँग भएको एफए १८ हर्नेट विमान र एफ–३५ ए लाइटनिङ जेट विमान परिस्कृत बनाउनेछ। यी विमानले आणविक हतियार बोक्नेछन्।
यी विमानहरुमा एलआरएएसएम नामक क्षेप्यास्त्र जडान गर्न सकिनेछ। जसले ४ सयदेखि ९ सय किमीसम्म पुगेर आक्रमण गर्नसक्छ। गत जुन महिनामा मात्र अमेरिका र अस्ट्रेलियाबीच साढे ३ अर्ब अमेरिकी डलरको रक्षा सम्झौता भएको थियो। त्यसबाट बोइङले बनाएको २९ एपाचे अट्याक हेलिकप्टर अस्ट्रेलियाले पाउनेछ।
दक्षिण कोरिया
दक्षिण कोरियामा पहिल्यैबाट झन्डै ३० हजार हाराहारीमा अमेरिकी सेना तैनाथ छन्। अमेरिकासँग मिलेर दक्षिण कोरियाले विभिन्न हतियारहरु विकास गर्ने गरेको छ।
गत सेप्टेम्बर १५ मा मात्र दक्षिण कोरियाले सफल रुपमा पनडुब्बीबाट प्रहार गर्न सकिने क्षेप्यास्त्र एसएलबीएम परीक्षण गरेको थियो। सो क्षेप्यास्त्र ह्युनमो–२बी ब्यालस्टिक क्षेप्यास्त्र जस्तै ५ सय किमी परसम्म जानसक्ने बताइएको छ।
गतवर्ष चीनले ह्युनमो–४ क्षेप्यास्त्र बनाएको थियो। सो क्षेप्यास्त्रले ८ सय किलोमिटर टाढासम्म पुगेर मार हान्नसक्ने बताइएको छ। एससीएमपीको सहयोगमा
यो पनिः चीन–जापान कट्टर दुश्मनीको कहानी
–ताइवानका रक्षामन्त्रीले भनेः चीनले आक्रमण गर्नसक्छ, क्षेप्यास्त्रहरु तयार राख्नुपर्छ
–धम्क्याउने उद्देश्यले १९ चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा घुसे