बुटवल । नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन भैरहवामा हुने भएको छ।
महाधिवेशन यहीँ १६ असोजमा हुने भएको छ। संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनबारे जानकारी गराएको हो।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले महाधिवेशनमा ५६ जिल्लाका जिल्ला तेक्वान्दो संघका अध्यक्ष, सात प्रदेशका अध्यक्ष तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने बताए।
उनले १६ असोज विहान १० बजे होटल बोधी रेडसनमा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवबाट महाधिवेशनको उद्घाटन हुने जानकारी दिए।
‘देशको मूल कानूनको आधारमा रही प्रदेशस्तरीय प्रदेश संघ समेत गठन भइसकेको र आगामी मंसिर महिनाभित्र ती प्रदेश संघको अधिवेशन सम्पन्न गरी प्रदेश संघको नेतृत्व चयन गरी स्थायित्व प्रदान गरिनेछ’,राणाले भने।
संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र उक्त नेतृत्वले आगामी ४ वर्ष संघलाई नयाँ योजना र कार्यक्रमसहित सञ्चालन गर्ने उनले बताए।
महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ जना सदस्य निर्वाचनमार्फत निर्वाचित गर्ने राणाले जानकारी दिए।
२०६६ सालमा वीरगंजमा भएको प्रथम केन्द्रीय महाधिवेशनले संघलाई संस्थागत रुपमा स्थापित गराउन सफल भएको राणाले जानकारी दिए।
संघको तेस्रो महाधिवेशन २४ असोज २०७४ मा बाराको सिमरामा भएको थियो।
तेक्वान्दो खेलमार्फत संघले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने कार्यमा लागे पनि सरकारले यो खेललाई फरक दृष्टिकोणले हेरेको अध्यक्ष राणाको गुनासो छ।