दशैं र तिहारमा दुई-दुई चलचित्र प्रदर्शन हुने, त्यसपछि छैन टुंगो

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ४ : ३४


काठमाडौं । सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र निर्मातामा केही आशाको सञ्चार भए पनि चलचित्र प्रदर्शन गर्न हतारो भने गरेको देखिँदैन।

पहिलो लकडाउनपछि प्रदर्शन भएका चलचित्रको व्यापारदेखि त्रसित निर्माताहरू यसपालि भने अलि संयमित देखिएका छन्।

यद्यपि, बलिउडले लगालग चलचित्र प्रदर्शनको मिति सार्वजनिक गर्दा भने नेपाली निर्माताहरू आफ्नो चलचित्र कहिले प्रदर्शन गर्ने भनेर चिन्तित हुन पुगेका छन्।

भारतको महाराष्ट्रमा २२ अक्टोवरबाट सिनेमा हल खुल्ने भएपछि धमाधम चलचित्र प्रदर्शन मिति तोक्न लागिएको छ। तर, नेपालमा भने अन्योलको अवस्था छ । केही चलचित्रले भने प्रदर्शन मिति सार्वजनिक गरेका छन्।

ती हुन्- धन्दागिरी, डाँडाको वरपीपल, चोर र पुलिस, धूम-४, लप्पन छप्पन-२ र ए मेरो हजुर-४।

केही वर्षअघि नै निर्माण सम्पन्न भएको एनवी अन्जान निर्देशित ‘धन्दागिरी’ दशैंको अवसरमा २५ असोजमा प्रदर्शन गरिँदैछ भने सोही अवसरमा सोभित बस्नेत निर्देशित ‘डाँडाको वरपीपल’ २६ असोज हलमा प्रदर्शन गरिने भएको छ।

त्यसगरी, यसपालिको तिहारमा भने दुइटा नेपाली चलचित्र दर्शकमाझ आउने तयारीमा छन्। चलचित्र हुन्- ‘चोर र पुलिस’ र ‘धूम-४’।

आरएल मोक्तानको निर्देशनमा बनेको ‘चोर र पुलिस’ १७ कात्तिकमा रिलिज हुँदैछ। जयकिशन बस्नेत निर्देशित ‘धूम-४’ १८ कात्तिकमा दर्शकमाझ ल्याइँदैछ।

मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन-२’ भने शिवरात्रीको अवसरमा १३ फागुनमा प्रदर्शन गरिने छ। झरना थापाको चलचित्र ‘ए मेरो हजुर(४’ नयाँ वर्ष ०७९ को अवसर पारेर २५ चैतमा प्रदर्शन गरिने छ।

तिहारपछि तत्कालै नेपाली दर्शकले कुन नेपाली चलचित्र हेर्न पाउने छन्, त्यो भने अहिलेसम्म टुंगो लागेको छैन । धमाधम हिन्दी सिनेमाको प्रदर्शन मिति तोकिनाले नेपाली निर्माताहरू आफ्नो चलचित्र प्रदर्शन गर्न डराइरहेका छन्। ठूलो ब्यानर तथा स्टार कलाकारका चलचित्रका निर्माता पनि हिन्दी तथा हिन्दी चलचित्रसँग जुध्ने डरले तनावमा रहेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस्