काठमाडौं । चलचित्र ‘काँडेतार’ मा कलाकार अनुबन्धित हुने क्रम जारी छ।
तिहारपछि छायांकन हुने चलचित्रमा केही समयअघि गौरव पहाडी अनुबन्धित भएका थिए।
बिहीबार अर्का अभिनेता पर्शुराम चौधरीलाई अनुबन्धित गरिएको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिए।
भारत र नेपालको बोर्डरमा काँडेतार लगाउनुपर्छ भन्ने विषयलाई लिएर निर्माण गर्न लागिएको चलचित्रलाई नवल स्वयं र शंकर कार्कीले निर्देशन गर्ने भएका छन् ।
यसअघि माओवादी द्वन्द्वको विषयमा ‘आवाज’, भारतले गरिरहेको नेपालको सीमा अतिक्रमणको विषयमा ‘दशगजा’ तथा शहीद भीमदत्तको विषयमा ‘भीमदत्त’ चलचित्र निर्माण गरेका नवल यो फिल्मबाट निर्देशकका रूपमा समेत प्रस्तुत हुँदैछन् ।
‘सधैं उही मायाप्रेम, धोका, आकर्षण, विकर्षणको विषयमा कति फिल्म बनाउनू,’ नवल भन्छन्, ‘देश र जनतालाई परेको पीडा, अव्यवस्थित शासन व्यवस्था, छिमेकीको थिचोमिचो, देशको स्वाधीनता र जनताको सार्वभौमसत्ताको विषयलाई पनि जोडदार रूपमा प्रस्तुत गरेर सचेतना फैलाउन ‘काँडेतार’ निर्माण गर्न लागिएको हो ।’
गोल्डेन आइज मुभी मेकर्सको ब्यानरमा बन्ने फिल्ममा नवल स्वयं मुख्य भूमिकामा रहने छन् भने अन्य कलाकारमा अर्जुनजंग शाही, गौरव पहाडी, प्रशान्तकुमार यादव, पर्शुराम चौधरी, रोमियन लिम्बू, रमेशरञ्जन झा छन् ।