रोनाल्डोको ३५ करोडको बेन्ट्ली कार केही दिनयता पेट्रोलविहीन, यूकेमा चरम इन्धन संकट!

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : ३९


बेलायतमा यतिबेला चरम इन्धन संकट छाएको छ। जसका कारण यतिबेला देशभर सेनालाई पेट्रोल, डिजेल लगायतका इन्धन आपूर्तिको लागि खटाइएको समाचारहरु आएका छन्।

इन्धनको अभाव हुँदा जहाँ पेट्रोल पाइन्छ त्यहाँ घन्टौं लगाएर कार, बाइक तथा अन्य सवारीले पेट्रोल तथा डिजेल भर्दछन्। इन्धनको अभाव भएर त्यहाँ संकट छाएको भने होइन।

वास्तवमा इन्धन ट्यांकरका सवारी चालकको अभावले बेलायतमा इन्धन संकट छाएको हो। न्युयोर्क टाइम्सका अनुसार हाल बेलायतलाई १ लाख ड्राइभरको आवश्यकता छ।

कोरोनाका कारण र बेलायत ईयूबाट बाहिरिएसँगै त्यहाँका सवारी चालकहरुले बेलायत छाड्दा इन्धन पेट्रोल पम्पसम्म नपुगेका हुन्। कमै मात्रामा चालक भएपछि देशभरका पेट्रोल पम्पहरुमा इन्धन नपुगेपछि त्यहाँ इन्धन संकट छाएको हो।

रोनाल्डोको कारमा छैन पेट्रोल
यसैबीच बेलायती फुटबल क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको २ लाख २० हजार पाउन्ड अर्थात् ३५ करोड रुपैयाँ पर्ने बेन्ट्ली कार पनि पेट्रोल विहीन भएको छ। रोनाल्डोको कारमा केहीदिनयता पेट्रोल नभएको डेलीमेलले जनाएको छ।

रोनाल्डोका ड्राइभरले बुधबार ७ घण्टा पेट्रोलको लागि लाइनमा बस्दासमेत पेट्रोल सकिएका कारण इन्धन भर्न नपाएको समाचारमा जनाइएको छ।

पेट्रोल अभाव हुँदा त्यहाँ ट्यांकी भर्नेगरी पेट्रोल हाल्न नदिइने नियम पनि बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्