अमेरिकी परियोजना एमसीसीको विरोधमा आन्दोलनरत २६ दलीय मोर्चाले यही असोज २२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएका छन।
एमसीसीविरुद्ध आन्दोलन गर्दै आएको सो मोर्चाले एमसीसी कुनै पनि समय नेपालका संसद्बाट पारित हुन सक्ने भन्दै निरन्तर विरोध गर्दै आएको छ।
एमसीसी खारेजी अभियानको मङ्गलबार ललितपुरको कुपन्डोलमा सम्पन्न बैठकले देशभक्त सङ्गठनको सङ्घर्षका कारण उत्पन्न दबाब र विभिन्न पार्टी–सङ्गठनभित्रको विरोधका कारण एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल हुन नसकेको भए पनि विदेशी शक्तिकेन्द्रहरूको दलाल सरकारले यो राष्ट्रघाती सम्झौता कुनै पनि बेला अनुमोदन गराउन सक्छ भन्दै यसलाई खारेज नगराउँदासम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको छ।
एमसीसी विरोध कार्यक्रम असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डलाबाट जुलुस सुरु गरेर संसद् भवनअघि पुगी विरोधसभा गर्ने निर्णय भएको बैठकपछि एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट सीपी गजुरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
साथै बैठकले विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरू, सङ्गठनहरू र व्यक्तिहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ।