चीन निकट पाकिस्तानले रुससँगको सम्बन्ध पनि सुमधुर रुपमा विकास र विस्तार गरेको देखिएको छ। बीबीसीहिन्दीका अनुसार रुस र पाकिस्तानको रक्षा मन्त्रालयले रक्षा सहयोग बढाउन तयार रहेको बताएका छन्।
बुधबार रुसका उप–रक्षामन्त्री एलेक्जेन्डर फोमिनले इस्लामावादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो जानकारी दिएका हुन्।
फोमिनले भनेका छन्, ‘वार्ताको क्रममा दुवै पक्षले पारस्पारिक हितका सम्बन्धमा भएको प्रगतिको प्रशंसा गरेका छन् र अन्य सैन्य सहयोग बढाउने विषयमा सहमति भएको छ।’
फोमिनका अनुसार दुई मुलुकबीचको सम्बन्ध र रक्षा सहयोग क्षेत्रीय सुरक्षाको लागि निकै महत्वपूर्ण छ। यसअघि सेप्टेम्बर १४ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पछिल्लो समय विकसित घटनाक्रमको विषयमा फोनवार्ता भएको थियो।
गत अप्रिलमा रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले पाकिस्तान भ्रमण गरेका थिए। यो भ्रमण पछिल्लो नौ वर्षमा रुसी विदेशमन्त्रीको पहिलो पाकिस्तान भ्रमण थियो।