जनयुद्धमा ज्यान गुमाउनेलाई सरकारले ‘राष्ट्रिय शहीद’ घोषणा गर्छः प्रचण्ड

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १ : ५०


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया अघि बढेको बताएका छन्।

पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय शहीद घोषणा गर्ने र दस्तावेजीकरण गर्ने विषय समेटिएको जानकारी गराए।

‘विगतमा छुटेका कैयौ पक्षलाई समेटेर जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया पनि अघि बढेको छ । छिट्टै सफलता प्राप्त गर्नेछौं’उनले भने।

अहिले आफूहरू गठबन्धन सरकारमा रहेको र माओवादीले अर्थ र ऊर्जा मन्त्रालय चलाइरहेको भन्दै प्रचण्डले अन्य बाँकी मन्त्रालय आजभोलि नै टुंगो लाग्ने बताए।

उनले भने, ‘गठबन्धनको साझा न्यूनतम कार्यक्रममा पहिलोपटक शहीद, बेपत्ता योद्धा, घाइते अपांगताको बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण र अन्य उपचारका सन्दर्भमा औपचारिक दस्तावेजीकरण भएको छ।’

सरकारको न्यूनतम साझा कार्यक्रममा जनयुद्धका शहीदहरूको बारेमा सत्यनिरुपण र बेपत्ता आयोगका कामहरूलाई छिटो टुंग्याउने बारेमा औपचारिक र वैधानिक ढंगले निर्णय गरिएको प्रचण्डको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्