माधव नेपाल बिरामी भएपछि रोकियो मन्त्रिपरिषद् विस्तार, जसपा पनि सरकारमा जाने

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : २८


काठमाडौं/ मन्त्रिपरिषद् विस्तार अझै दुई दिन नहुने भएको छ। सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार वा शुक्रबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए। सोहीअनुसार सबै दलसँग मन्त्री बन्नेको नाम मागेका थिए।

पाँच दलीय गठबन्धनमा राजमो भने सरकारमा सहभागी नहुने भएको छ। अहिले कांग्रेसका प्रधानमन्त्रीसहित तीन र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुईजना मात्र मन्त्री बनेका छन्।

जनता समाजवादी पार्टी राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने टुंगो लागेको छ। यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले नै सरकारमा पार्टीको नेतृत्व गर्ने बताइएको थियो। तर, डा।बाबुराम भट्टराई पक्षले अध्यक्ष यादव सरकारमा जान नहुने, अरुलाई नै मन्त्री पठाउनुपर्ने अडानमा रहेपछि श्रेष्ठले पार्टीको नेतृत्व गर्ने भएका हुन्।

जसपामा मन्त्री बन्न धेरैले आकांक्षा देखाएका छन्। २० सांसद रहेको जसपामा सबैले मन्त्री दाबी गरेपछि यादव र भट्टराई संकटमा परेका थिए। तर, आन्तरिक छलफलबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रदीप यादव, रेणु यादव, प्रमोद साह, मृगेन्द्र सिंह मन्त्री बन्ने टुंगो लागेको एक नेताले जानकारी दिए। जसपाले पाँच मन्त्री र राज्यमन्त्री थप भए एकजना पाउने सहमति जुटेको छ।

एकीकृत समाजवादीले पनि पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी, किसान श्रेष्ठलगायत मन्त्री बन्ने टुंगो लागे पनि सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने अझै टुंगिन सकेको छैन।

माओवादी केन्द्रबाट भने देवेन्द्र पौडेल, सुदन किराँती, अञ्जना विशंखे, जयपुरी घर्ती मन्त्री बन्ने चर्चा छ। यसअघि नै माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन्।

कांग्रेसबाट भने दिलेन्द्रप्रसाद बडू, डा।मिनेन्द्र रिजाल, उमाकान्त चौधरी र पुष्पा भुसाल सरकारमा सहभागी हुने आन्तरिक सहमति भएको छ। सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लागे पनि अझै मन्त्रालयको भागबन्डा टुंगिन सकेको छैन। गठबन्धनको बैठक बसेपछि मात्र मन्त्रालयको भागबन्डा टुंगो लाग्नेछ।


प्रतिक्रिया दिनुहोस्